एमाले महाधिवेशन: ‘थारु कोटा’तर्फ ६ केन्द्रीय सदस्यका लागि थारु नेताहरुको कडा टक्कर

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा कुन कुन थारु नेताहरु कुन पदमा आकांक्षी छन् भन्ने चर्चा चलिरहेको छ। एक थारु नेताका अनुसार करिब २३ सय महाधिवेशन प्रतिनिधिमध्ये थारु प्रतिनिधिको संख्या एकदमै न्युन रहेको छ। ती नेताका अनुसार मुस्किलले ४०-४५ जना थारु प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुँदैछन्। तर आकांक्षीहरु भने धेरै थारु नेताहरु रहेको उनले बताए।

को-को छन् आकांक्षी

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा मोरङबाट सत्यनारायण चौधरी, सुनसरीबाट भगवती चौधरी र द्वारिकलाल चौधरी, उदयपुरबाट मञ्जु चौधरी, सप्तरीबाट देवनारायण चौधरी, राजकुमार लेखी, सिरहाबाट राजेन्द्र चौधरी, बाराबाट वलवीर चौधरी, चितवनबाट लालमणि चौधरी, नवलपुरबाट मझिलाल थनेत, परासीबाट वैजनाथ चौधरी, रुपन्देहीबाट तुल्सी प्रसाद चौधरी, कपिलवस्तुबाट विश्राम चौधरी, दाङबाट शान्ता चौधरी, नरुलाल चौधरी, गंगा थारु सत्गौंवा, कैलालीबाट नेपालु चौधरी र नारदमुनी राना र माओवादीबाट आएका गौरीशंकर चौधरी आकांक्षी रहेका छन्।

थारु कोटाबाट ६ जना केन्द्रीय सदस्य आउने

एमालेको दसौं राष्ट्रिय महाधिवेनबाट ६ जना थारुहरु केन्द्रीय सदस्यमा आउने भएका छन्। समावेशीअन्तर्गत थारु समुदायका लागि ६ वटा कोटा निर्धारण गरिएको छ। जसमा ४ जना पुरुष र २ जना महिला रहेका छन्। पदाधिकारीमा भने थारुका लागि कुनै कोटा राखिएको छैन।

थारु नेताहरुबीच भीडन्त

दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि थारु नेताहरुबीच कडा टक्कर हुने देखिएको छ। थारु कोटाबाट को को आउने भनेर अहिल्यै निर्धारण भइसकेको अवस्था छैन। तर सबै नेताहरु केन्द्रीय सदस्यका लागि आफूलाई अब्बल उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन्।

यसरी हेर्दा महिलातर्फ उदयपुरकी मञ्जु चौधरी, सुनसरीकी भगवती चौधरी र दाङबाट शान्ता चौधरी र गंगा चौधरी आकांक्षी रहेका छन्। ओली पक्षमा आफ्नो जबरजस्त प्रस्तुती देखाइका शान्ता चौधरी र भगवती चौधरीलाई खुल्लातर्फको महिलाबाट आउन थारु नेताहरुले दबाब दिएका छन्। तर त्यसमा पनि धेरै आकांक्षी रहेकाले अन्त्यमा उनीहरु थारु कोटामै आउने सम्भावना देखिन्छ। त्यसो भयो भने शान्ता चौधरी र भगवती चौधरी केन्द्रीय सदस्य बन्ने लगभग निश्चित देखिन्छ।

थारु समुदायबाट पुरुष नेताहरुमा धेरै आकांक्षीहरु छन्। जसमध्ये एमालेले लोसपाबाट आएका राजकुमार लेखी र माओवादीबाट आएका गौरीशंकर चौधरीलाई जसरी पनि केन्द्रीय सदस्यमा समाहित गर्ने बताइएको छ। उनीहरुलाई मनोनीत गर्ने, खुलाबाट ल्याउने वा थारु कोटाबाट ल्याउने अहिल्यै निश्चित भएको छैन।

यदि थारु कोटाबाट उनीहरुलाई समाहित गर्ने हो भने त्यसपछिका अब्बल उम्मेदवार वैजनाथ चौधरी र नारदमुनी राना रहनेछन्। राना समुदाय थारुबाट अलग भए पनि नारदमुनी राना थारु कोटाबाटै उम्मेदवारी दिने बताइएको छ।

त्यसो त पूर्वी कल्स्टरबाट इटहरीका मेयरसमेत रहेका द्वरिकलाल चौधरी र हालका केन्द्रीय सदस्यसमेत रहेका वलवीर चौधरीले कडा दाबेदारी प्रस्तुत गरेका छन्। उनीहरुका अलवा चितवनका लालमणि चौधरी, नवलपुर मझिलाल थनेत पनि उम्मेदवार बन्न दौडधुप गरिरहेका छन्।

दसौं राष्ट्रिय महाधिवेशनमा थारु कोटाबाट मात्रै ६ जना केन्द्रीय सदस्य चुनिनेछन् कि खुलाबाट पनि केही थारु नेताहरु आउनेछन्, त्यो भने केही दिनपछि थाहा भइ नै हाल्नेछ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *