एमाले महाधिवेशन: कुन ‘पोर्टफोलियो’मा आउँदैछन‍् राजकुमार लेखी?

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा थारु नेता राजकुमार लेखीको चर्चा हुन थालिएको छ। गत असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखीले एमाले विधान महाधिवेशनमै गत १७ असोजमा एमाले प्रवेश गरेका थिए।

उनी एक दसकपछि एमाले फर्किँदा थारु तथा आदिवासी जनजाति नेताहरु हौसिएका थिए। एमाले शीर्ष नेताहरुले पनि लेखीको आगमनलाई विशेषरूपमा लिँदै आएका छन्।

एमालको दसौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेका बेला सबैको नजर लेखीमाथि रहेको छ। ठूलै अपेक्षा लिएर एमाले फर्किएका लेखीले महाधिवेशनबाट कुन पदमा आसिन हुने सबाल यतिबेला थारु समुदायमा व्यप्त रहेको छ।
एमाले प्रवेश गर्दैगर्दा लेखीले भनेका थिए- मधेसवादी दलमा मैले जति गर्नसक्नुपर्थ्यो त्यति गर्न सकिनँ। थारुलगायत उत्पीडित वर्गको मुद्दा ठूलो पार्टीबाटै समाधान गर्न सकिने निष्कर्ष निकालेको छु।

हुन त उनले यसअघि एमाले रहँदा पार्टीभित्रका विभिन्न संगठनहरुमा रहेर काम गरेका थिए। उनी सप्तरी-काठमाडौं जनसम्पर्क मञ्चको अध्यक्ष भएर काम गरे, लोकतान्त्रिक आदिवासी महासंघको सचिवालयमा रहेर काम गरे, युव संघको प्रचार प्रसार विभाग र जनवर्गीय संगठनमा रहेर उनले काम गरेका थिए। पहिलो संविधानसभा विघटन भएपछि उनी असन्तुष्टि जनाउँदै एमाले परित्याग गरेका थिए।

त्यसबीचमा उनले आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। थारु कल्याणकारिणी सभामा रहेर होस् या आदिवासी जनजाति महासंघमा होस्, उनले आदिवासीका सबालमा अग्रणी भूमिका खेले।
एमाले बाहिर रहँदा पनि उनी एमालेका शीर्ष नेताहरुसँग सधैँ नजिक रहे। एमालेमा फर्काउन उनलाई अध्यक्ष केपी ओलीसम्मले पटक पटक लबिङ गरेका थिए। उनी एमालेमा फर्किँदा आफ्नो पोर्टफोलियोबारे शीर्ष नेतासँग सर्त राखेको बताइएको छ। त्यतिबेला एमाले स्रोतले लेखीलाई केन्द्रीय सदस्यको फोर्टफोलियो दिने बताएको थियो।

महाधिवेशनको पूर्सन्ध्यामा एमालेको स्थायी कमिटी बैठकले लेखीलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ। यससँगै उनी केन्द्रीय सदस्य बन्न योग्य भएका छन्। ‘तपाईँको केन्द्रीय सदस्यको उम्मेदवार हो?’ भन्ने प्रश्नमा लेखीले आफू आकांक्षी नरहेको बताए। ‘म आफूलाई आकांक्षीको रुपमा देखेको छैन। तर शीर्ष नेताहरुको सल्लाह सुझावको अपेक्षामा छु,’ उनले भने।

एमालेले समावेशीअन्तर्गत थारु समुदायलाई ६ वटा कोटा दिएको छ। जसमध्ये ४ पुरुष र दुई महिलाको लागि रहेको छ। एमाले स्रोतका अनुसार लेखी केन्द्रीय सदस्यमा मनोनीत हुने सम्भावना छ। तर अहिल्यै केही भन्न नसकिने स्रोतको भनाइ छ।

‘केन्द्रीय सदस्यका धेरै आकांक्षीहरु छन्। पछिल्लो समय माओवादीलगायत विभिन्न पार्टीबाट आएका नेताहरु पनि आकांक्षी छन्। लेखीजी खुला वा थारु कोटाबाट पनि आउन सक्नुहुन्छ। त्यसो नभए उहाँ पछि मनोनीत पनि बन्न सक्नुहुन्छ,’ स्रोतले थारुवानसँग भन्यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *