एथलेटिक्स गाइड बुक : खेलकुद प्रेमीहरुका लागि सञ्जीवनी बुटी

शत्रुघन चौधरी

खेलकुद भन्ने वितिक्कै खेल्ने र कुद्ने भन्ने बुझिन्छ। खेलकुद मानिसको लागि अपरहिार्य विधा हो। खेलकुदले मानिसलाई मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य रहन मद्दत गर्नुको साथै यसले मानिसको जीवनलाई अनुशासित एवं गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेल्छ। खेलकुदमा विभिन्न विधाहरु हुन्छन्। तीमध्ये एथलेटिक्स एउटा महत्वपूर्ण विधा हो। जसअन्तर्गत दौडने, उफ्रने र फाल्ने खेलहरु पर्छन्। सामाजिक सद्भाव कायम गर्न, राष्ट्रिय एकता कायम गर्न र समग्र देशको सामाजिक विकास तथा आर्थिक समृद्धि हासिल गर्न खेलकुदको अहं भूमिका रहेको हुन्छ।

नेपाली खेल जगत विशेषगरी एथलेटिक्सलगायत अन्य खेललाई टेवा पुर्‍याउने उद्देश्यले नेपालका चिर परिचित व्यक्तित्व तथा एथलेटिक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा कीर्तिमान कायम गरिसकेका र स्वदेश तथा विदेशमा विभिन्न खेलमा स्वयं सहभागी भई खेलकुद प्रतियोगिता सञ्चालन गरी लामो अनुभव प्राप्त एथलेटिक्सका कुशल प्रशिक्षक धनिराम चौधरीले आफ्नो ज्ञान, सीप र अनुभवलाई समेटेर हालसाथै Athletics Guide Book (एथलेटिक्स गाइड बुक) प्रकाशनमा ल्याउनुभएको छ। यस पुस्तकको प्रमुख उद्देश्य खेलाडी प्रशिक्षक, विद्यार्थी, खेलप्रेमीहरुलाई एथलेटिक्स खेल, Track and Field को अवधारणाबारे सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी दिने, Track and Field Marking लाई प्राथमिकता दिनु, एथलेटिक्स खेल प्रतियोगिता सञ्चालन गर्दा आवश्यक ज्ञान र सीप प्रदान गर्नु रहेको छ।

यस पुस्तकमा विशेष गरेर एथलेटिक्स विधाभित्र पर्ने दौड Run, उफ्रने Jump, फाल्ने Throw खेलहरु खेल्न खेलाउन आवश्यक पूर्वाधार, सामग्री तथा खेलका आधारभूत सीपहरुबारे सरल तरिकाले व्याख्या गरिएको छ। एथलेटिक्सको परिचयसँगै सुरु गरिएको यस पुस्तकमा एथलेटिक्सको इतिहास, नेपालमा खेलाइने महिला तथा पुरुषको एथलेलिक्टस खेलहरुको बारेमा जानकारी गराइएको छ। त्यसैगरी यसमा Combine Event को बारेमा पनि विस्तृत रुपमा व्याख्या गरिएको छ। जसमा महिलाहरुलाई खेलाइने Heptathlon र पुरुषहरुलाई खेलाइने Decathlon को बारेमा सरल तरिकाले ख्याख्या गरिएको छ। त्यस्तै यसभित्र दक्षिण एशियाली खेलकुदको विकास क्रम र यसमा नेपालका तर्फबाट भाग लिई विभिन्न विधामा पदक विजेताको नामावली समावेश गरिएको छ।

यसरी नै ओलम्पिक खेलको बारेमा पनि यहाँ उल्लेख गरिएको छ। जसमा नेपालका तर्फबाट एथलेटिक्स खेल म्याराथन दौडमा सहभागी हुने खेलाडीहरुको नामावली उल्लेख गरिएको छ। यस पुस्तकमा यथलेटिक्स विधाका विभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा कायम भएका रेकर्डहरुको बारेमा जानकारी गराइएको छ।

यस पुस्तकको अर्को महत्वपूर्ण विशेषता भनेको खेलकुद सञ्चालन गर्ने प्रशिक्षकहरुका लागि सरल तरिकाले इभेन्ट सञ्चालन गर्न मद्दत पुग्ने किसिमले विभिन्न विधिहरु उल्लेख गरिएको छ। जसमा ट्र्याक अनिर्माण गर्ने, फिल्ड निर्माण गर्ने तौर तरिका, ट्र्याक बनाउनका लागि आवश्यक क्षेत्रफल पत्ता लगाउने विधि, Starting Staggers, पत्ता लगाउने विधि, Break line, Diagonal Excess Running Distance, Take Over Zone, Marking For 4×100 m Relay, 4×4  Relay Race, Marking for Hurdle Competition 400m Hurdleमा Staggers पत्ता लगाउने शुत्र,  Steeple Chase, Start and Finish, Color, Marking, २०० मिटर ट्रयाक निर्माण गर्ने तरिकाबारे उल्लेख गरिएको छ।

त्यस्तै एथलेटिक्स प्रतियोगितामा समेटिने पदाधिकारीहरु र उनीहरुको भूमिकाका बारेमाल्लेख गरिएको छ। खेलकुद सञ्चालन गर्दा कहिलेकाहीँ खेलाडीबीच Tie हुन सक्छ यसरी Tie हुदा के कसरी बिजेता बनाउन सकिन्छ यस बारेमा पनि विस्तृतरुपमा व्याख्या र विश्लेषण गरिएको छ। पुस्तकको अन्ततिर खेलकुदमा बस्ने कोच तथा Judge हरुका लागि बिजेताहरुको तथ्यांक सुरक्षित राख्न आवश्यक फारमहरु समेत राखिएको छ।

यस पुस्तकको अर्को विशेषता हरेक पाठमा पाठकलाई बुझ्न सरल होस् भनेर खेलको विधि सचित्र व्याख्या गरिएको छ। जस्तो कि दौड सुरु गर्दा कुन पोजिसनमा बस्ने On Your Mark, Set, Go मा आवश्यक उपयुक्त पोजिसन सचित्र देखाइएको छ। त्यस्तै रिले दौडमा एकले अर्कोलाई लठ्ठी दिँदा कुन पोजिसनमा दिने र समात्नेले कसरी समात्ने सचित्र देखाइएको छ। हर्डल्स खेलमा आवश्यक सीप, छोटो तथा लामो दूरीको दौडमा सुरुवात गर्ने गति बढाउने तरिकाबारे सचित्र व्याख्या गरिएको छ। त्यस्‍तै लङजम्प, पोल भल्ट, ज्याभलिङ थ्रो, सटपुट थ्रो गर्दा चाहिने सिपको पनि सचित्र बर्णन गरिएको छ।

त्यस्तै लेखकले यस पुस्तकमा विभिन्न दौड प्रतियोगिताको लागि चाहिने ट्रयाक निर्माण गर्ने तरिका सचित्र नापसहित र यसका साथै हिसाब निकाल्ने फर्मुलासहित व्याख्या गर्नुभएको छ। यसले गर्दा सिकारु, प्रशिक्षक तथा यस खेलप्रेमीलाई सहजै बुझ्न र खेलसम्बन्धी काम गर्न सहज बनाएको छ।

पुस्तकलाई सरसर्ती पढ्दा खेलमा रुची राख्ने प्रशिक्षक, खेलाडी शिक्षक, अभिभावक, विद्यार्थी तथा आम पाठकलाई उपयोगी हुने देखिन्छ। यसले खेलका विभिन्न आयामबारे जानकारी दिएको छ। खास गरेर नेपाल भौगोलिक विविधता भएको मुलुकमा खेलकुद आयोजना गर्न विभिन्न कठिनाइहरु आउन सक्छन। यस पुस्तकले त्यस्ता समस्या भएका स्थानमा पनि सहज तरिकाले कसरी खेल प्रतियोगिता सम्पन्न गर्न सकिन्छ भन्ने उपाय पनि दिएको छ।

यस पुस्तकले विद्यालय, क्लब, क्याम्पस, पालिकास्तर, प्रदेशस्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि व्यवस्थापन पक्षलाई, खेल प्रतियोगिताको योजनाकारलाई योजना बनाउन तथा खेल व्यवस्थापन गर्नमा ठूलो भूमिका खेल्नसक्ने विश्वास गर्न सकिन्छ।

लेखकको भनाइअनुसार हालसम्म यस प्रकारको एथलेटिक्सका सम्पूर्ण विधालाई सचित्र र फार्मुलासहित सरल तरिकाले ब्याख्या गरी प्रकाशन गरिएकाको यो पहिलो पुस्तक हो। विद्यालय तथा कलेजहरुमा अध्यापन गराइने पुस्तकमा पनि यसरी विस्तृतरुपमा व्याख्या गरिएको पाइँदैन। यसकारण यो पुस्तक खेलकुद प्रेमीहरुको लागि सञ्जीवनी बुटीको रुपमा आएको छ भन्दा फरक नपर्ला। समग्रमा भन्नुपर्दा यस पुस्तकले प्रत्यक्ष या अप्रत्यक्षरुपमा खेलकुद क्षेत्रको उन्नयनमा ठूलो टेवा दिनेछ।

यस पुस्तकलाई अझ पाठकमैत्री बनाउनका लागि विषयवस्तुलाई व्यवस्थित बनाई खण्ड-खण्ड राख्न सकेमा अझ उपयुक्त हुने देखिन्छ। यसैगरी यो पुस्तक एक किसिमको गाइडबुक भएकाले खेलको सुरुवाती अर्थात् तयारी चरणमा के-के गरिन्छ, खेलको दौरानमा गरिने त्रियाकलाप तथा खेल समापनको चरणमा गरिने क्रियाकलापबारे विषयवस्तु संक्षिप्तरुपमा राख्न सके अझ सुनमा सुगन्ध हुने थियो।

त्यसैगरी एथलेलिक्स खेलाडीहरुको छनौट प्रक्रिया, खेलपूर्व गरिने खेलाडीको वार्मअप विधि, खेलले ल्याउनसक्ने शारीरिक बदलाव, असर र त्यसको निराकरणका बारेमा उल्लेख गर्नसके खेलाडीहरु तथा पाठकहरु अझ लाभान्वित हुने थिए। यो पुस्तक एउटा गाइड बुक भएकाले खेलकुदका अन्तर्राष्ट्रिय मूल्य मान्यता, खेलाडी तथा प्रशिक्षकहरुको लागि आचारसंहिताजस्ता पाठ राख्नसके अझ सान्दिर्भिक हुने देखिन्छ। त्यस्तै पुस्तक तयारीमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रकाशन, बुलेटिन, नीतिनियमको अध्ययन गरी तयार पारिएको हुनाले पुस्तको अन्त्यमा रिफरेन्सको सूची राख्न सकेमा पुस्तक लेखनको फर्मेटले पूर्णता पाउने थियो।

शीर्षक : एथलेटिक्स गाइड बुक Athletics Guide Book

लेखक/सम्पादक : धनिरामचौधरी

भाषा : नेपालीअंग्रेजी

मुल्य रु. ३००

पृष्ठ संख्या : १८४

फोन नं. : ९८४९८६७२३३




Leave a Reply

Your email address will not be published. Required fields are marked *