थाकसले १३ वर्षअघि गरेको निर्णय- थारु समुदाय बुद्ध धर्मावलम्बी भएको घोषणा गर्दछौं

थारु कल्याणकारिणी सभा (थाकस)ले नेपालमा जारी राष्ट्रिय जनगणनामा थारुहरुले धर्ममा बौद्ध लेख्न परिपत्र गरेपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। कतिपयले धर्म स्वेच्छिक हुनुपर्ने बताइरहेका छन् भने धेरैले थारुहरु प्रकृतिक पूजक हो भनी थाकसको विरोध गरिरहेका छन्। आखिर किन थाकसले थारुहरु बौद्ध धर्म मान्छन् भनी परिपत्र गर्‍यो?

थाकसका महामन्त्री प्रेमीलाल चौधरीले यस विषयमा थाकस आफैँले निर्णय गरेको बताए। उनले आजभन्दा १३ वर्षअघि लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय थारु सम्मेलन तथा बौद्ध गोष्ठीले थारुहरु बौद्धका सन्तान भनी निर्णय गरेको बताए।
उनले विसं २०६५ कात्तिक २ देखि ४ गतेसम्म चलेको बौद्ध गोष्ठीले १५ बुँदे घोषणा पत्रसमेत जारी गरेको उनले बताए।

थाकसका तत्कालीन अध्यक्ष अष्टभूजा प्रसाद चौधरी र महामन्त्री राजकुमार लेखीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- सर्वप्रथम थारु समुदायका सबैभन्दा महान् व्यक्तित्व गौतम बुद्धलाई स्मरण गर्न चाहन्छु। गौतम बुद्धको यो जन्मस्थल हजारौं हजार वर्षदेखि हामी थारुहरुको भूमि रहिआएको छ। हाम्रो थारु समुदाय आज संकटमा छ। यस्ताो अवस्थामा हामी नेपालका थारुहरुले मात्र आपसमा छलफल गरेर पुग्दैन। हामी संसारभरि छरिएर रहेका छौं। विश्वका विभिन्न मुलुकमा रहेका थारुहरु एकै ठाउँ भेला भएर छलफल गर्नुपर्छ भन्ने हामीलाई लाग्यो। यसका लागि थारुका सन्तान र हाम्रा पुर्खा भगवान गौतम बुद्धको जन्मस्थलमा भेला हुनुभन्दा राम्रो उपाय अर्को केही थिएन। त्यसकारण हाम्रो खोसिएको थरुहट तराई भूमि र हामीलाई राजनीतिक कमैया बनाइएको विरोधमा अब हामी यो देशको मालिक बन्न चाहन्छौं।’

पृष्टभूमि तयार गर्दैगर्दा विज्ञप्तिमा भनिएको छ- हामी सिंहदरवारको अन्डरमा बस्दैनौं। मधेसीहरुको अन्डरमा बस्दैनौं। सिंहदरवार नै कब्जा गर्न चाहन्छौं। त्यसैले यो अन्तर्राष्ट्रिय सम्मेलनद्वारा १५ बुँदे लुम्बिनी घोषणा पत्र जारी गरेका छौं।’

घोषणा पत्रको दोस्रो नम्बरमा भनिएको छ- थारु समुदाय परम्परागत रुपमा हिन्दु होइनौं। प्रकृतिपूजक हौं। बुद्धमार्गी हौं। शान्तिप्रिय हौं यो सम्मेलनद्वारा थारु समुदाय बुद्ध धर्मावलम्बी भएको घोषणा गर्दछौं।

यही बुँदालाई टेकेर नै थाकसले धर्ममा बौद्ध लेख्न परिपत्र जारी गरेको महामन्त्री चौधरीले बताए। ‘हामीले हाम्रै संस्थाले गरेको आधिकारिक निर्णयलाई पछ्याएका मात्र हौं। यो कसैको व्यक्तिगत इच्छा वा चाहनाले लेखिएको परिपत्र होइन,’ महामन्त्री चौधरीले थारुवानसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *