काठमाडौंबासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु : मन्त्री उमाकान्त चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्। काठमाडौंमा मन्त्री चौधरीद्वारा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘हामी आउनुअघि काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न पाए। तर दैवी प्रकोपका कारण आज पानी पाउन सकिराखेका छैनन्,’ सम्बोधनका क्रममा उनले भने, ‘म यति भन्न चाहन्छु, म अस्थायी भए पनि मेरै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउँछु।’ उनले त्यसका लागि एउटा विज्ञ टोलीलाई निरीक्षण गराइसकेको र आफू पनि छिट्टै निरीक्षणमा जान लागेको बताए।

उनले शुद्ध पानी हरेक नेपालीको मौलिक हक भएको बताउँदै ‘एक घर एक धारा’ कार्यक्रम ल्याएको बताए। उनले यसअघिका सरकारले विभिन्न कार्यक्रमहरु ल्याइसके पनि नेपालहरुलाई शुद्ध पानी खानबाट वञ्चित नहोस् भनेर यस्तो कार्यक्रम ल्याएको प्रस्ट पारे।

पार्टी महाधिवेशनको प्रसंगमा उनले सबै नेता कार्यकर्तालाई कृष्णप्रसाद सिटौलाको नेतृत्वलाई साथ र समर्थन गर्न आह्वान गरे। उनले त्यागी नेताको रुपमा चिनिएका कृष्णप्रसाद सिटौला परिवर्तको पक्षमा रहेकाले पनि सबैले साथ दिनुपर्ने बताए।

उनले नेता सिटौलाकै कारण युवा नेता गगन थापा स्वास्थ्यमन्त्री, बौद्धिक नेता भीमसेन दास प्रदान रक्षा मन्त्री र तराई मधेस एवं थारुको छोरा आज मन्त्री भएको बताए। कार्यक्रममा नेता सिटौला,भीमसेन दास प्रधान र गगन थापाले सम्बोधन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *