दीपा थारुले राप्ती पुलबाट हाम फालेर गरिन् आत्महत्या

बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले श्रीमान जोगिरामसँग सामान्य विवाद भएपछि दीपा मध्यरातमै घरबाट निस्किएर करिब तीन किलोमिटर उत्तरको राप्ती नदीमा पुगेर हाम फालेर आत्महत्या गरेको भनेर निवेदन दिएको सेतोपाटीलाई बताए।

‘दीपाले बिहान करिब २ बजेतिर राप्ती नदीको सिधनियाँ घाट पुलबाट हाम फालेर आत्महत्या गरेको भन्ने कुरा आएको छ,’ डिएसपी न्यौपानेले भने, ‘दीपाको शव मंगलबार बिहान सवा १० बजेतिर घटनास्थलनजिकै फेला परेको हो।’ दीपाको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘श्रीमान जोगिरामले सामान्य विवादपछि श्रीमती मध्यरातमा एक्लै राप्ती नदीको पुलमा पुगेको र फोन गरेर आफू त्यहाँ पुग्दा झनै उत्तेजित भएर हाम फालेको भन्ने कुरा गर्नु भएको छ,’ एसपी अधिकारीले भने,‘जोगिरामले केही आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *