शक्ति केन्द्रले माधव नेपाललाई दबाब दिएपछि काटियो मेटमणि चौधरीको नाम

तीन दिनअघि नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने ठोकुवा गरेका थिए। उनले आफू पनि मन्त्री बन्ने र शपथ लिने ठोकुवा गरेका थिए। उनी निकट नेताहरुका अनुसार मेटमणि चौधरी पर्यटनमन्त्री बन्ने निश्चितजस्तै थियो।

मेटमणि चौधरीले दाबी गरेको मन्त्रिपरिषद् विस्तार त बिहीबार हुन सकेन। तर उनलाई समेत आश्चर्य पार्नेगरी शुक्रबार समाचार आए। समाचारमा उनको नाम कहीँ कतै देखिएन। बरु प्रेम आले र किसान श्रेष्ठ मन्त्री बने।

एमालेमा विभाजन आएसँगै चर्चामा रहेका मेटमणि चौधरी अन्तिम समयमा किन मन्त्री बन्न सकेनन्? मन्त्रीको सूचीबाट उनको नाम कसले काट्यो। उच्च स्रोतका अनुसार शक्ति केन्द्रले उनको नाम काट्न लगाएका हुन्। पछिल्लो समय पार्टी अध्यक्ष माधव नेपालको समेत विश्वास पात्र बनेका चौधरीको नाम शक्ति केन्द्रहरुले माधव नेपालमार्फत् नै काट्न लगाएको स्रोतको दाबी छ।

स्रोत भन्छ, ‘मेटमणिजी आफ्नै कारणले मन्त्री हुनबाट चुक्नुभयो। उहाँले शक्ति केन्द्रहरुसँग ‘ब्यालेन्स’ गर्न सक्नुभएन। नत्र माधव नेपालको हिम्मत थिएन उनको नाम हटाउने।’

नेकपा एसले रामकुमार झाँक्रीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री, कृष्णकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, प्रेम आलेलाई सहरी विकास मन्त्री बनाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन्।

यस सम्बन्धमा मेटमणि चौधरीले भने लचिलो जवाफ फर्काएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘को मन्त्री बन्नु भयो? को मन्त्री हुनु भएन ! मुख्य बिषय होइन। मुख्य बिषय प्रणाली जोगिएको छ। संवैधानिक सर्वोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ। जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो- प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्छ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ। फेरि मन्त्री हुने कुरो- सबै प्रकारका कम्बिनेसनहरू मिल्नुपर्छ। कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजजको परिस्थिति यही नै हो।’

उनले हामी कठिन मोडमा भएको र यो घडीमा सबैमा धैर्यधारणको जरूरी रहेको उल्लेख गरेका छन्। ‘त्यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी छैन। पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी छ। पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन। नेपालको लोकतन्त्रलाई सस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *