अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी

टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए । राजनीतिक द्वन्द्वले थारु-पहाडीलाई बैरी बनायो । सुरक्षाकर्मी र एक बच्चाको सहादतले हामीलाई पनि पोलेको थियो । तर राज्यले हामीलाई हत्याराको नजरले मात्र हेर्‍यो । दोषी हामीलाई देख्यो । गर्नसक्ने जति ज्यादती गर्‍यो । धन, सम्पत्ति, इमान, इज्जत केही बाँकी राखेन । पुनः लेख्दैछु, गुमाउन केही बाँकी छैन ।

वास्तविकता राज्यलाई थाहा छ । दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठ्न, राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठउँदा ।

पछिल्लोपटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपछि अझै हामी जेलमा छौं । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने पूर्व र वर्तमान प्रधानमन्त्रीज्युहरु ? वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पञ्छिन पाइन्छ ?

कुरोलाई चुरोमा पु¥याऔं है ! चुनाव जितेर दुई वर्षसम्म विजय प्रमाण पत्र र माननीयको शपथ मलाई किन खुवाइएन ? कुन कानुनले हिजो दिएन र कुन कानुनको धारा, उपधाराले दुई वर्षपछि दिइयो ? कानुन कसैको व्यक्तिगत बपौती हो ? शपथ खुवाएपछि मैले आफ्नो मतदाताको सेवा गर्न पाउनु पर्दैन ? टीकापुरलाई राज्यले जनप्रतिनिधिविहीन बनाउन पाइन्छ ? मलाई झ्यालखानामा थुनी राख्ने भए अर्को प्रतिनिधिको चुनाव गराउन पर्दैन ?

राजनीतिमा राज्यको कामै दमन गर्नु हो भन्थे हो रैछ । टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो । आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भुल स्वीकार्नु होइन ?

राज्यसँगै हामी त आफ्नैबाट पनि ठगियौं । त्रेतायुगमा सुनको लंका जलाएर विभिषण राजा भएका थिए रे ! यहाँ पनि हामीलाई आफ्नैले खरानी बनाएर शासन गर्न खोज्दैछन् । मन्त्री त बनिसके ।

गरौंला धेरैले भने तर कहिल्यै भएन । हुन्छ सबैले भन्छन् तर हुँदैन रहेछ । गन्तव्यको सारथी अर्कोलाई बनाएर लक्ष्य भेटिँदैनरहेछ । त्यसैले सडे पनि अलि दिन सडुँला । मन बलियो बनाएर कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने । कसैका सामु नगिडगिडाउने, याचना नगर्ने, किच्चडबाट उम्किन आफैँ प्रयत्न गर्ने ।

बेला भइसकेको त छैन तर विकल्प भएन । यहाँसम्मको राजनीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद । कसैसँग केही गुनासो छैन । धेरै कुरा सिकाउनुभो धन्यवाद । गोता लगाएर मोती भेटाउन नसके पनि राजनीतिक गोताखोर जरुर भइयो । राजनीति यस्तै रहेछ, सत्य असत्य, असत्य सत्य । इमानीभन्दा बेइमानीहरुले अंक बढी प्राप्त गर्दा रहेछन् । कार्यकर्ता बेचेर पद प्रतिष्ठा आर्जन गर्ने प्रचलन रहेछ । झुट, इमान, कार्यकर्ता बेच्ने कलामा निपुन भएपछि बल्ल राष्ट्रवादी नेता भइँदो रहेछ ।

अहिलेसम्म के भोगिएन । के भएँ, के भइनँ । कहिले बजारको खजाना भएँ, कहिले जँड्यहाको गाना बजाना भएँ । कहिले नोटमा चलियो । कहिले भोटमा चलियो । लामो हथौडाको सयौं चोट खपरे अर्काको पूजा कोठामा मूर्ति भै सजिएँ । कसैका लागि हीरामोतीको दाना भएँ । अघोरीको माना भएँ । संसदमा लिलाम भएँ । स्वार्थमा उनकै काम तमाम भएँ । बनियाको धन अनि महाराजको मन भइयो ।

अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।

राजनीतिक रोटी

हिजो मालिकले बेचे, आज दासले बेच्दैछन्
जुवाडेको खालभित्र कागजे तासले बेच्दैछन् ।

युद्धस्थलमा भेटिएको मुकुट न परियो
पहिरिन पाइन्छ कि भन्ने आशले बेच्दैछन्
नरित्तिने कुबेरको ढुकुटी भएपछि
मोजमस्ती गर्दै एक तमासले बेच्दैछन्
रेशम कल भि हमारा था, आज भि हमारा है
भनेर छाती ठोक्दै धमासले बेच्दैछन् । हिजो मालिकले बेचे…

बलिको बोको सम्झेर मुने आ भन्दै घाँस देखाउँदै
मन्त्रीको मोलमोलाईमा शानले बेच्दैछन्
सत्तामै सौकत देख्नेहरु सधैं उही सपना देख्छन् रे
सट्टेबाजीको बधुवा सम्झी स्वार्थी जमातले बेच्दैछन् ।

हिजो मालिकले बेचे, आज दासले बेच्दैछन्
जुवाडेको खालभित्र कागजे तासले बेच्दैछन् ।

सधैं मालिक बन्ने अभिलासामा
मधेसलाई सहिदको लाशले बेच्दैछन्
शासनको बागडोर मुठीमा लिएर सन्दुकमा थन्क्याई हामीलाई
अनुकूलको राजनीतिक रोटी खास खासले सेक्दैछन्

हिजो मालिकले बेच, आज दासले बेच्दैछन्
जुवाडेको खालभित्र कागजे तासले बेच्दैछन्




2 thoughts on “अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी

Leave a Reply

Your email address will not be published.