आज चितोनिया र ललपुरिया थारुको यमोसा पर्व, खैरहनीका विद्यालयमा विदा

असोज २०, चितोनिया र ललपुरिया थारु समुदायले आज यमोसा पर्व मनाइरहेका छन् । आज सबेरै दाभी (सिरु) काटेर मुठा पारी घरको मूल ढोका अगाडि पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।

पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि पहुनीको अगाडि बसेर रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । एक वर्ष अवधिभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने गरिन्छ ।

छाकी चढाईसकेपछि छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ खानपान गराइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाई काइ“योले कोरीदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन विद्हरई” भनिन्छ । आजको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । पाहुनाहरुलाई सत्कार गरेर विदा गरिने चलन छ ।

बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा गीत गाउँदै “यमोसा” खाने गरिन्छ । पाको मानिसको छुट्टै समूह हुन्छ । यमोसा खान आउने समुहहरुलाई पनि पाहुना झैं आदर सत्कारपूर्वक खानपान गराई विदा गरिन्छ ।

खैरहनी नगरपालिकाले दियो विदा
खैरहनी नगरपालिकाको शिक्षा समितिको निर्णय अनुसार नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा थारु पितृऔंसी (यमोसा पर्व) को विदा दिइएको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी गराए । संस्थागत विद्यालयमा हुने आन्तरिक परीक्षा पितृऔंसीका दिन नराख्न नगर प्याब्सनलाई फोन सम्पर्क गरी निर्देशन दिइएको नगर शिक्षा अधिकारी बानियाँले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *