नयाँ पार्टी घोषणा गर्ने तयारी, माधव थारुको नेतृत्वमा बन्यो तदर्थ समिति

कैलालीको लम्कीमा नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको जिल्ला स्तरीय भेलाले सामूहिक नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी गरेको छ।

भेलाले थरुहट नेता माधव चौधरीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिका सहसंयोजकमा लम्की चुहानगरपालिकाका देशराम चौधरी, जोशीपुर गाउँपालिकाका चुचिराम चौधरीलाई प्रवक्ताको रुपमा चयन गरिएको छ।

सदस्यहरुमा गोदावरी नगरपालिकाका धनिराम चौधरी, लम्की चुहानगरपालिकाकी पार्वती चौधरी, मानबहादुर चौधरी, जानकी गाउँपालिकाका चक्रबहादुर चौधरी, जगत चौधरी, चतुरलाल चौधरी, टीकापुर नगरपालिकाकी बिना चौधरी, भजनी नगरपालिकाका दिलिप चौधरी रहेका छन्।

त्यस्तै घोडाघोडी नगरपालिकाका सुरज कठरिया, बलि थारू, गौरीगंगा नगरपालिकाका प्रदेशी चौधरी, सुरज चौधरी, बर्दगोरिया गाउँपालिकाका विकतलाल चौधरी, भोलेराम चौधरी, धनगढी उपमहानगरपालिका गोठुराम चौधरी, बिद्दु राना, कैलारी गाउँपालिकाका धनिराम चौधरी, जगदिश चौधरी, जगन्नाथ चौधरी र यम चौधरी रहेका छन्।

भेलाका प्रमुख वक्ता नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम चौधरी, नेवा अभियानका केन्द्रीय संयोजक सुमन सयमी, नेवा अभियन्ता रविन्द्र श्रेष्ठ, खडक चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

भेलाले अगामी मंसिर ३ र ४ गते हुने राष्ट्रिय सम्मेलनबाट एउटा सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ पार्टी घोषणा निश्कर्ष निकालेको छ। राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्ष मण्डल चयन हुने जनाइएको छ। पार्टीमा सबै कलस्टरलाई समेत्ने र चुनाव चिन्हको रुपमा नमस्ते चिन्ह नै रहने छ।

नयाँ पार्टीले टीकापुर राजबन्दी र रेशम चौधरीको बारेमा कस्तो धारणा बनाउनेबारे केही खुलाइएको छैन। हुन त यही समूहले टीकापुर राजबन्दीको रिहाइ माग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *