राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

राष्ट्रपति विद्या भण्डारीले थारुहरुले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन्। बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

साथै यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्द्धन गर्ने बताएका छन्। प्रधानमन्त्रीले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकताबद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन्।

जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गरेका छन्। त्यसमध्ये जितिया पनि एक भएको उनको भनाइ छ।

साथै जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन्। उनले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *