अभिषेक चौधरीलाई छुरा हानी हत्या गर्ने थप दुईजना पक्राउ

प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दुवैजना अभिषेक चौधरी हत्यामा संलग्नता देखिएको बताए । १५ जनाको समूहमा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका चौधरीको सोही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको थियो । सुशन उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्।

घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए ।

हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । यसअघि पक्राउ परेका ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् । अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राकेश, हेमराज र योगेशलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *