राष्ट्रिय जनगणना सुरू, तथ्यांक टिपाउँदा यी कुरा नछुटाउनुस्

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन्।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना आजबाट सुरु भएको छ। त्यस अन्तरगत सुपरिवेक्षकहरुले सर्वसाधारणका घर घरमा पुगेर घर तथा घरपरिवार सूचीकरणको काम आजबाट सुरु गरेका छन्। सुपरिवेक्षकहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सुचिकरण फारम भर्ने र सामुदायिक प्रश्नावली भर्ने काम गर्ने छन्।

फारममा घर संख्या, ती घरको प्रयोग अन्तरगत आवासिय घर वा गैर आवासिय घरको विवरण संकलन गर्ने छन्। त्यसमा व्यापार, व्यवसाय, सरकारी, शैक्षिक, स्वास्थ्यजन्य, उद्योग कल कारखाना, बैंक तथा वितिय सस्था, सस्थागत होटल तथा लज धनसार लगाएतको विवरण समेत राखिने छ । त्यसैगरी महिला पुरुष तथा अन्य लिङ्गीको संख्या, परिवारका सदस्यको पेशा, प्राविधिक पक्ष, अनुदानबाट बनाएका घर, तथा त्यसको अबस्थाका बारेमा समेत विवरण संकलन गर्नेछन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ। उनीहरु देशभर करिब ७० लाख घर परिवारमा पुग्नेछन्। घर तथा घरपरिवार सुचिकरण आजबाट सुरु भएर असोज १८ गते अर्थात २० दिन सम्म सञ्चालन हुनेछ। विभागले यसरी संकलन गरेका विवरण गोप्य राखिने भन्दै जनगणनाको लागि सहयोग गरिदिन सम्पूर्णमा अपिल समेत गरेको छ।

नेपालमा जनगणना सुरु भएको एक सय १० बर्ष पूरा भएको छ। यसपाली हुने १२ औं जनगणना आगामी कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *