अट्वारी सबैको साझा पर्व बनाऔँ : डा. गोपाल दहित

पूर्व मन्त्री तथा अनुुसन्धानकर्ता डा. गोपाल दहितले अट्वारी पर्वलाई सबैको साझा पर्व बनाउनुपर्ने बताएका छन्। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ जोतपुरमा भएको अट्वारी टिउह्वार (पर्व) को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. दहितले बताएका हुन्।

अट्वारी पर्व हालः पश्चिमा थारु समुदायले मात्र मनाई रहेकोमा सबै समुदायका मानिसहरु मनाउनुपर्ने आफूले मान्यता राखेको बताए। अट्वारी सद्भाब र सामाजिक पर्व भएकोले यसलाई महत्वपूर्ण पर्वको रुपमा बनाउन आवश्यक रहेको धारणा राखे। यस पर्वले दाजुभाइ दिदीबहिनीहरुको भेटघाट र मेलमिलाप गराउने पर्व रहेको बताए। अट्वारीमा आफ्नो दिदीबहिनीहरुलाई कोशेलीको रुपमा अग्रासण दिन जाने एकदमै राम्रो संस्कार रहेको बताउँदै, यसको महत्व र आवश्यकता बढाउँदै लैजाने कुरामा जोड दिए।

शुुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी तथा थारु संस्कृतिविद् सुशील चौधरीले कार्यक्रममा अट्वारी पर्वको महत्व र आवश्यकताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। अट्वारी पर्वले थारु समुदायलाई सद्भाव र मेलमिलपको बाटो तर्फ दोर्याउने भएकोले यसलाई निरन्तरताको आवश्यकता रहेको बताए।

महाभारत कथाको भिम पत्रको शक्तिशाली क्षमता र हामी सबैको आवस भन्ने कामनाका साथ उनको सम्झना गर्दै पूजा गर्ने गरेको बताए। कार्यक्रममा युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले थारु समुदायमा रहेको पर्वलाई संरक्षण र प्रवद्घन गर्न आवश्यक रहेको बताए।

गुठी संस्थानका पुर्व अध्यक्ष मीनराज चौधरीले नेपाल सरकारले नै अट्वारी पर्वलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिए। युनिक नेपलका पूर्व अध्यक्ष देवमान चौधरी, शिक्षक संघका अध्यक्ष छप्पुराम चौधरीलगायतले अट्वारीसम्बन्धी आ-आफ्नो धारणा राखेका थिए।

युनिक नेपालको आर्थिक सहयोगमा जंग्रार साहित्यिक बखेरीको आयोजना तथा युनिक स्पोर्ट्स् क्लब र जोतपुर बरघर समितिको समन्वयमा कार्यक्रम भएको थियो। कार्यक्रम जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराको सभापतित्वमा भएको थियो। कार्यक्रममा थारु बुुद्धिजीबी तथा स्थानीय युवा बरघरहरुको सहभागिता रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *