डिल्ली चौधरीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

लुम्बिनी प्रदेशमा मन्त्रीविहीन बनेका मन्त्रालयमध्ये थप ३ मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप ३ मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।

नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्रालयको जिम्मेवारी चौधरीलाई दिएको हो। मन्त्रिमण्डल विस्तार अघिसम्म आफुले यी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्री चौधरीले बताए।

बजेटको तयारी गर्नका लागि आफूलाई थप ३ वटा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।

मन्त्री चौधरीले मुख्यमन्त्री कुलप्रसाद केसीले सम्हाल्दै आएका मध्येका ३ मन्त्रालयको बजेट र कार्यक्रम संसोधनको काम गर्ने बताए। मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाई हुने भएपछि मन्त्रीहरुले जिम्मेवारी बाँडेर बजेट संसोधनको काम गरिरहेका छन्।

गठबन्धन सरकारले बनाएका १३ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्रिविहिन छन्। अरु २ राज्यमन्त्री थपिनेछन् । एकजना कांग्रेसबाट र एकजना माओवादीबाट राज्यमन्त्री थप्ने तयारी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *