कांग्रेस महाधिवेशनका लागि समावेशी सिद्धान्तअनुसार यसरी छानिँदैछ थारु प्रतिनिधि

नेपाली कांग्रेस शुक्रबारदेखि १४औँ महाधिवेशनमा होमिएको छ। कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली वेवसाइटमार्फत सार्वजनिक गर्दै वडा अधिवेशनको आह्वानसमेत गरेको छ। जसमध्ये केही जिल्लामा अधिवेशनसमेत सम्मपन्न भएको छ।

थारु प्रतिनिधि कसरी छानिँदै छ?
गाउँपालिका वडा अधिवेशनले वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ। कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र गाउँपालिका-नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ।

त्यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ। विधानअनुसार तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य, महिला, दलित, आदिवासी-जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट ६ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

गाउँपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

त्यस्तै कांग्रेसको गाउँपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ।

नगरपालिका वडा अधिवेशनमा पनि वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ। कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ।

त्यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ। विधानअनुसार ४ महिलासहित १२ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ८ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

उपमहानगरपालिका-महानगरपालिका वडा अधिवेशनले पनि गाउँपालिका-नगरपालिका वडा अधिवेशनकै अनुपातमा सभापति, उपसभापति, सचिव, सहसचिव प्रत्यक्ष निर्वाचित गर्नुपर्दछ भने कोषाध्यक्ष पनि वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट चयन गर्न पाउने व्यवस्था विधानमा छ।

उपमहानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ५ महिलासहित १५ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १० जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

महानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ६ महिलासहित १८ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १२ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनमा १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ।

१ सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्। वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ।

कांग्रेसको नगर, उपमहानगर र महानगरपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ।

निर्वाचन समितिले ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न भए ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६ सय ८१ सदस्यहरु निर्वाचित हुने जनाएको छ। यसबाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *