साँस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतले नेपाललाई ४ अर्ब २० करोड दिने

भारतले नेपालमा साँकृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना सञ्चालन गरिने छ।

यस्तै ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

२०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको ४२० करोड नेपाली रुपैयाँमा पुनर्निर्माण गरिनेछ । स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ।

शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारतले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ।

भारतको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेका छन्। त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घरहरुको निर्माण भइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *