सुदूरपश्चिमका यी दुई थारु सांसद माधव नेपाल पक्षतिर लागे

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थारु सांसद चुनकुमारी चौधरी, कुलवीर चौधरीसहित १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन्।

सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन्। त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

त्यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो। एमाले उपाध्यक्ष भीम रावलले तान्न सक्ने खतरा देखेर मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको हो। प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसद छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *