थारु नेताको कटाक्ष- देउवाजी, ५५ जनाको मन्त्रिमण्डल बनाउनुस्, पहिले पनि बनाउनुभएकै हो

मन्त्रालयको भागबण्डा नमिल्दा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। सत्ता गठबन्धनका चार वटै दलका शीर्ष नेताहरु सहमतिका लागि दिनकै बैठक बसिरहेका छन्। तर आजका मितिसम्म सहमति हुन सकेको छैन।

यता सत्तागठबन्धकै दलहरुभित्र मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि मन्त्री छान्न शीर्ष नेताहरुलाई टाउको दुखाइको विषय बनेको छ। अहिलेसम्म गठबन्धनका कुनै पनि दलले मन्त्रीको टुंगो लगाउन सकेको छैन।

यसै सन्दर्भमा लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं थारु नेता राजकुमार लेखीले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाएको छ। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्- एक महिनाभन्दा बढी भयो। देउवाजीलाई केको सकस? ५५ जनाको मन्त्रिमण्डल बनाए भो। पहिले पनि बनाएकै हो।

त्यस्तै टीकापुर राजबन्दी रिहाइ अभियानका संयोजक एवं अभियन्ता सुरेन्द्र चौधरीले पनि सत्ता गठबन्धनलाई मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाव दिएका छन्। ‘जसपा, लोसपा उर्फ लोप्पा र माधव नेपालको पार्टी बचाउनलाई २५ बाट बढाएर ५० जनाको मन्त्रिमण्डल बनाउँदा पनि हुन्छ। प्रतिगमन सच्याउने कुरो भित्र परे भइहाल्यो!,’ उनले लेखेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *