यी हुन् देउवा क्याबिनेटका सम्भावित थारु मन्त्रीहरु

करिब डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार गर्न आज प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा सकेसम्म भोलि नै वा नसके केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रलाय बाँडफाडको टुंगो लागेको छ। जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ र माओवादी, नेकपा एस र जसपाले बराबर ५ मन्त्री र एक राज्यमन्त्री पाउनेछन्।

सत्तागठबन्धका सबै दलमा यतिबेला मन्त्री छान्ने काम भइरहेको बताइएको छ। नेपाली कांग्रेसमा विभिन्न गुटहरु भएकाले गुटका नेताहरुले मन्त्री छान्ने काम गरिरहेको बताइएको छ। स्रोतका अनुसार कांग्रेसबाट रामचन्द्र पौडेल समूहबाट सप्तरीबाट निर्वाचित सांसद तेजुलाल चौधरीको मन्त्री बन्ने सम्भावना रहेको छ। त्यस्तै कृष्ण सिटौला समूहबाट बाराबाट निर्वाचित सांसद उमाकान्त चौधरीको मन्त्री बन्ने सम्भावना छ।

त्यस्तै माधव नेपाल नृतृत्वको नेकपा एसबाट दाङबाट निर्वाचित सांसद मेटमणि चौधरी मन्त्री बन्ने पक्कापक्की भएको बताइएको छ। पार्टी विभाजन भएदेखि उनले माधव नेपाल पक्षमा अग्रपंक्तिमा रहेर ओलीको विरोध गर्दै आएका छन्। त्यसैले पनि उनको मन्त्री बन्ने पक्कापक्की रहेको निकट नेताहरुले बताएका छन्।

माओवी केन्द्रबाट महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदीको मन्त्री बन्ने हल्ला सुनिए पनि त्यसको कुनै टुंगो नलागेको बताइएको छ। प्रचण्डलाई समावेशीभन्दा पनि गुटका नेताहरुले आफ्ना मान्छेलाई मन्त्री बनाउन दबाब दिइएको बताइएको छ। त्यही भएर पनि थारु समुदायका मोदीको मन्त्री बन्ने सम्भावना कम रहेको बताइएको छ।

जनता समाजवादी पार्टीमा भने थारु सांसद छैनन्। कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरी निलम्बित छन्। जसपा र लोसपा दुवैले रेशम आफ्नो पार्टीमा रहेको दाबी गर्दै आएका छन्। सप्तरीबाट निर्वाचित सांसद चन्द्रकान्त चौधरी भने लोसपमा छन्। ओली क्याबिनेटमा उनी राज्यमन्त्री बनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *