ब्रान्ड बन्दै थारु परिकार घोङी, होटेल-रिसोर्टमा माग बढ्दो

सन्तोष दहित
पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो। आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो।
थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ। यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

पहिला थारु समुदायले मात्र खाने घोङी परिकार अहिले अन्य समुदायले पनि उत्तिकै मात्रमा खाने गर्छन्। पछिल्लो समय थारु होमस्टेदेखि थारु समुदायले सञ्चालन गरेका होटेल, रिर्सोटहरुमा घाङी खान आउनेहरुको संख्या ह्वात्तै बढेको कविला रिर्सोटका म्यानेजर अशोक चौधरीले बताए।

कविला रिर्सोट स्थापनासँगै घाङीको स्वाद लिन आउनेहरुको संख्या बढिरहेको उनले बताए। रिर्सोटमा प्रवेश गर्नेहरु जो कोहिले पनि घाङीको स्वाद लिने गरेको उनको भनाइ थियो। रिर्सोटबाट दिइने परिकारमध्ये मुख्य ब्राण्डको रुपमा घाङी रहेको उनले बताए।

त्यसैगरी अहिले थारु होमस्टे, थारु रिर्सोटहरुमा पनि प्रति प्लेट एक सयको दरले घोङी बेचिरहेको कोहलपुर गाभरस्थिति थारु होमस्टे सञ्चालक कृष्ण डेमनडौराले जानकारी दिए। उनका अनुसार अहिले घोङीको माग दिन प्रतिदिन बढिरहेको छ।

के हो घोङी
घोङी एक प्रकारको किरा हो। यसको खस नाम शंखेकिरा हो। यसको अंग्रेजी नाम Pond Snail हो। यो प्रायः पोखरीमा पाइन्छ। डा. गोपाल दहितद्वारा लिखित पुस्तक आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तमा घोङीको वैज्ञानिक नाम Pila Species उल्लेख गरिएको छ।

घोङी एक प्रकारको औषधि
डा. गोपाल दहितले आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तमा घोङी एक प्रकारको औषधिसमेत रहेको पुष्टि गरेका छन्। घोङीको प्रयोगले पेट सफा गर्ने र पातलो दिशा रोक्ने, टीबी रोगीका लागि उपयुक्त हुने, घाउ निको हुने गरेको आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास पुस्तकमा डा. दहिले उल्लेख गरेका छन्।

उनको पुस्तकमा उल्लेख भएअनुसार दिनको एक डुनाको हिसाबले दुई पटकसम्म तीन दिनसम्म घोङी खाएमा पेट सफा हुने र पातलो दिशा रोक्ने गर्छ। त्यसैगरी ठूल्ह्वा रोग लागेमा घोङीमा कप्वा लगाएर (पिठो हालेर) तरकारी खाने र त्यही कप्वालाई प्रभावित ठाउँमा दिनको दुई पटकसम्म चार दिनसम्म लगाएमा निको हुने र टीबी रोगीका लागि शरीर कमजोर भएमा घोङीको नियमित तरकारी खाएमा पोषण मिल्ने र शरीरको विभिन्न ठाउँमा भएको घाउमा घोङीको टुप्पोको रसले घाउ निको हुने गरेको उनले दाबी गरेका छन्।

कहाँ पाइन्छ घोङी
विशेषतः यो बर्खायाम (असारदेखि भदौसम्म) खेतमा पाइन्छ। तर, खेतमा रासायनिक मल हाल्न सुरु गरेपछि घोङी कम मात्रमा पाइने गरेको छ। अहिले माछा पोखरी, साना साना तलाउ, सिचाई कुलोमा पनि घोङी पाइन्छ। पछिल्लो समय घोङीको व्यवसायिक पालन पनि हुँदै आएको छ। माछासँगै घोङीमा पनि राम्रो आम्दानी हुने गरेकाले व्यवसायिकरुपमा घोङी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ।

घोङी खाने तरिका
घोङीलाई कम्तिमा ६ घण्टासम्म एउटा भाडामा राखेर पिठो हाल्नु पर्छ। किनकि घोङी माटोभित्र बस्ने भएकाले उसको पेट सफा गर्नका लागि पनि ६ घण्टासम्म पिठो खान दिनुपर्छ। ६ घण्टापछि घोङीलाई पकाएर खान सकिन्छ। तर, घोङी पकाउनुअघि सकेसम्म १० देखि १५ मिनेटसम्म बोइल गर्नुपर्छ। यदि सकिँदैन भने घोङीको पछाडि भागको टुप्पो हसिया या खुर्पाले अनिवार्य काट्नुपर्छ।

त्यसपछि सफा पानीमा राम्ररी धोएर अरु तरकारी पकाएझैँ पकाएर खान सकिन्छ। घोङीको मिठो स्वाद लिनका लागि टिमुर र हल्का पिठो हालेर गिलो सुप बनाएर पकाएमा सबैभन्दा मिठो मानिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *