रेशम चौधरी किन गएनन् सनाखत गर्न, यस्तो छ कारण

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरलाई अन्ततः जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको साथ मिलेन। लोसपाका नेताहरुले बुधबार रेशम चौधरीले आफूहरुको पक्षमा सनाखत गरेको दाबी गरे पनि निर्वाचन आयोगले त्यस कुराको इन्कार गरेको छ।

आयोगले रेशम चौधरीको सनाखत नभएको बताएको छ। दल दर्ताका क्रममा सनाखत गर्नका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेकोमा रेशम चौधरी आयोगमा उपस्थित भएनन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘पार्टी दर्ताका लागि निवेदन दिएका सदस्यहरु आयोगमा उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने हुन्छ। लोकतान्त्रिक समाजवादी पार्टीमा रेशम चौधरीको सनाखत भएको छैन। उहाँहरुको १६ जना केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदको सनाखत भएको छ। रेशम चौधरी अनुपस्थित हुनुभएको छ।’

लोसपाका नेता राजेन्द्र महतोले रेशम चौधरीले जेलबाटै सनाखत रहेको दाबी गरेका थिए। लोसपाले १५ जना सांसदको नामावली पेस गर्दा त्यसमा रेशम चौधरीको नाम पनि समावेश गरेको थियो। त्यसपछि आयोगले संसद सचिवालयलाई रेशम चौधरीको बारेमा जानकारी माग गर्दा उनी निलम्बित सांसद रहेको जानकारी प्राप्त गरेको थियो। त्यसपछि लोसपाका १४ जना सांसद मात्र कायम भएका छन्।

आयोगमा लोसपाको सनाखतको तयारी चलिरहँदा जसपाका दुईजना सांसद रेशम चौधरीलाई भेट्न कारागार गएका थिए। भेटमा रेशम चौधरीले आफू जसपामै रहेको बताएका थिए। एकदिन अगाडि लोसपाका अध्यक्ष महन्थ ठाकुर आफै हस्ताक्षरका लागि कारागार पुगेका थिए। तर, चौधरीले हस्ताक्षर गर्नका लागि इन्कार गरेका थिए। चौधरीले आफू जसपा लोकतान्त्रिकका सनाखत गर्न तयार थिए। रेशम चौधरी जसपाको कार्यकारिणी सदस्य छन्।

आधिकारिताका लागि भएको मतदानको समय रेशम चौधरी तटस्थ बसेका थिए। बुधबार चौधरीले लोसपाका लागि सनाखत गर्न इन्कार गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *