को हुन् महन्थ ठाकुरको पार्टीमा कार्यकारिणी सदस्य बनेकी थारु महिला?

महन्थ ठाकुर नेतृत्वको पार्टीमा एक थारु महिला पनि कार्यकारिणी सदस्य चुनिएकी छन्। निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि महन्थ समूहले यसअघिको सूचीमा ७ जना महिलाको नाम थपेको छ। जसमा कैलालीकी प्रेमा थारु कार्यकारिणी सदस्य चुनिएकी छन्। यसअघि राजकुमार लेखी, चन्द्रकान्त चौधरी र रेशम चौधरी कार्यकारिणी सदस्य रहेका थिए। प्रेमा चुनिएसँगै महन्थ समूहको पार्टीमा चार जना थारु समेटिएका छन्।

कलेज पढ्ने उमेरदेखि नै उनी थारु विद्यार्थी समाज लागेर सामाजिक, राजनीतिक काममा अग्रसर भएकी थिइन्। विवाहपछि बच्चा जन्मिँदा समेत उनले आफ्नो पढाइलाई निरन्ता दिइरहेकी छन् भने सामाजिक र राजनीतिक कर्ममा पनि उतिकै सक्रिय रहँदै आएकी छन्।

उनले थारु विद्यार्थी समाजमा आबद्ध भएर कोषाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। कार्यबाहक अध्यक्षसमेत भइसकेका उनी अहिले समाजको केन्द्रीय सचिवसमेत हुन्। अहिले पनि उनी थारु विद्यार्थी सभाको सहसंयोजक रहेकी छन् भन् थारु कल्याणकारिणी सभाको उपत्यका समिति सदस्य रहेर काम गर्दै आएकी छन्।

थारु आन्दोलनमा कैलाली जिल्लामा सक्रिय भूमिका निर्वाह गरेकी उनी अहिले केन्द्रीय राजधानीमा पनि थारुको माग मुद्दा सम्बोधनका लागि उतिकै सक्रिय रहँदै आएकी छन्। थारु आन्दोलनलाई कमान्डिङ गर्ने क्षमता रहेको उनी थरुहट थारुवान राष्ट्रिय मोर्चाको महिला संगठनको संयोजक छन्।

उनी तत्कालीन राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीको विद्यार्थी मञ्चको उपाध्यक्षसमेत रहेकी थिइन्। पछि पार्टी मर्ज भएर राजपा हुँदै जसपा बनेको थियो। जसपा उनी थारु संघको केन्द्रीय सहअध्यक्ष रहेकी थिइन्। उनले पार्टीमा आफ्नो सक्रिय भूमिका भएकै कारण कार्यकारिणीजस्तो गरिमामय पदको जिम्मेवारी पाएको बताइन्। यो जिम्मेवारीले महिलाहरु पनि केही गर्न सक्छ भन्ने सन्देश गएको उनको भनाइ छ।

प्रेमा चौधरीले सामाजिक र राजनीकि दुवै जिम्मेवारीलाई निर्वाह गर्दै अगाडि बढ्ने बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *