भारतीय प्रधानमन्त्री मोदीले गरे थारुहरुको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आदिवासी थारुहरुको प्रशंका गरेका छन्। गत वर्ष उनले ‘मन कि बात’मार्फत् भारतको पश्चिम चम्पारणमा बसोबास गर्ने थारुहरुबारे प्रशंसा गरेका हुन्। उनले थारु जातिले हरेक साउन महिनामा मनाउने बरना पर्वबारे चर्चा गर्दै प्रशंसा गरेका हुन्। यो पर्वले थारुहरु प्रकृतिप्रतिको प्रेम र वन संरक्षणमा कति प्रतबद्ध छन् भन्ने कुरा दर्शाउने उनले बताए।

उनले बरना पर्वमा थारु समुदायले ६० घन्टासम्‍म लकडाउनको पालना गर्ने गरेको बताए। यो पर्वका दौरान कसैलाई पनि घरबाट बाहिर निस्किने अनुमति नहुने र बाहिरबाट पनि गाउँमा प्रवेश गर्न बन्देज लगाइन्छ। भर्खर उम्रिन लागेका बिरुवाहरु नकुल्चियोस् भनेरै उनीहरुले यस्तो गरेका हुन्। जुन बढिजसो साउन महिनामा उम्रिने गर्छ। प्रधानमन्त्री मोदीले थारुहरुको परम्परागत नृत्य र अनुष्ठानहरुको समेत तारिफ गरेका छन्।

प्रधानमन्त्री मोदीले भारतमा सबै पर्वहरु प्रकृतिसँग सम्बन्धित रहेको र यसको आफ्नो छुट्टै महत्व हुने गरेको बताए। उनले थारुहरुले बरना पर्वअन्तर्गत विभिन्न पकवान बनाएर पूजापछि छरछिमेकमा बाँड्ने चलनको प्रशंसा गरे। उनका अनुसार यो पर्वमा प्रत्येक गाउँको बर्खान अर्थात् पिपलको रुखलाई पुजा गर्ने गरिन्छ।

भारतीय थारु कल्याण महासंघका संस्थापक दीप निरेन प्रसादले थारु समुदायले अझै पनि पारम्पारिक मूल्य मान्यतालाई कायम राखेको भन्दै गर्व गरे। तर यो समुदाय अझै उपेक्षित रहेको उनको भनाइ थियो। उनले बरना पर्व प्राकृतिक संशाधनको संरक्षणका लागि आदिवासी जनजातिहरुको प्रतिबद्धताको प्रतीक रहेको बताए।

‘थारु समुदाय जनजीविकाका लागि प्रकृतिमै निर्भर छन्। यही कारण उनीहरु वर्षमा ६० घन्टासम्म आफूलाई घरमै कैद गर्छन्। उल्लंघन गर्नेहरुलाई समुदायमा दण्डित पनि गरिन्छ,’ उनले भने। भारतमा थारुहरुको बाक्लो उपस्थित भनेको चम्पारनमै रहेको छ। त्यहाँ करिब २१४ गाउँमा थारुहरुको बसोबास छ। तथ्यांकअनुसार करिब साढे २ लाख थारुहरु त्यहाँ बसोबास गर्छन्।




One thought on “भारतीय प्रधानमन्त्री मोदीले गरे थारुहरुको प्रशंसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *