थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा आउँछु भनेर पनि आएनन् थारु सांसदहरु

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेको भन्दै मोर्चाले अन्तर्क्रिया गरेको हो। ७ भदौ २०७२ मा कैलालीको टीकापुर घटेको घटनालाई थारुहरुले विद्रोहको रुपमा लिँदै आएको छ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरु नारायण वाग्ले, राजनीतिक विश्लेक युग पाठक, डा. भास्कर गौतम र विजयकान्त कर्णको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा उनीहरुले थारुहरुको माग मुद्दामा आफूहरुको समेत समर्थन रहेको बताए। नागरिक समाजका अगुवा वाग्लेले सरकारले थारुहरुको माग मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए। त्यसमा आफ्नो सदैव साथ समर्थन रहेको बताए।

त्यस्तै लेखकसमेत रहेका युग पाठक र भास्कर गौतमले टीकापुर घटनालाई मूलधार मिडियाले गलत भास्यको रुपमा ब्याख्या गरेको बताए। त्यो भाष्यलाई थारुहरुले परिवर्तन गर्न जरुरी रहेको बताए। विगत ६ वर्षमा कुनै न कुनैरुपमा त्यो भाष्य परिवर्तन हुँदै गरेको समेत उनीहरुले बताए।

त्यस्तै थरुहट नेता राजकुमार लेखीले थारुहरुको आन्दोलनमा अहिलेका पुस्ताहरुको सहभागिता न्युन रहेको बताए। उनले सबै कार्यक्रममा एउटै अनुहार हुने गरेको बताउँदै नयाँ पुस्तालाई पनि थारुहरुको माग मुद्दा वा बहसमा सहभागी गराउँदै लैजानुपर्ने बताए। उनले त्यतातर्फ आयोजकहरुलाई ध्यानाकर्षणसमेत गराए।

त्यस्तै टीकापुर राजबन्दी राष्ट्रिय रिहाइ अभियानका सं‌योजक समेत रहेका सुरेन्द्र चौधरीले थारुहरुसँग आन्दोलनको विकल्प नरहेको बताए। उनले रेशम चौधरीलगायत टीकापुर राजबन्दीको रिहाइका लागि पनि आन्दोलनको खाँचो रहेको बताए।

कार्यक्रममा १६ जना सांसदलाई बोलाइए पनि सप्तरीका निर्वाचित सांसद चन्द्रकान्त चौधरी मात्र सहभागी थिए। आयोजकका अनुसार नेपाली कांग्रेस, एमाले र माओवादीका थारु सांसदहरुले कार्यक्रममा आउने बताए पनि कोही सहभागी भएका थिएनन्। आयोजकले पटक पटक सम्पर्क गरेको र आउने आश्वासनसमेत पाएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *