शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग

‌बर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो।

कोरोना महामारीमा जटिल अवस्थाबाट गुज्रिएको संस्थागत विद्यालयको हितका लागि आज सामाजिक विकास समितिका संयोजक र शिक्षा शाखा प्रमुखसँग विभिन्न विषयमा छलफल गरिएको संस्थागत विद्यालयको छाता संगठन राइसाका प्रमुख सल्लाहकार तथा साहरा बोडिङ स्कुलका सञ्चालक राम स्वरुप थारुले बताए।

खासगरी विद्यार्थी भर्ना गर्दा स्थानान्तरण प्रमाणपत्र बिना नै अन्य विद्यालयले विद्यार्थी भर्ना गरिदिने गर्दा निजी विद्यालयको आर्थिक नोक्सानी बढ्दै गएकाले प्रमाणपत्र बिना कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थी भर्ना नगर्ने, कक्षा थपको अनुमति दिनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयका प्रअहरुको संयुक्त बैठक गराउन सके समस्या कम हुने भन्दै शिक्षा क्षेत्रसँग सम्बन्धित माग राखिएको राइसा सल्लाहकार थारुको भनाइ छ।

छलफलमा बोल्दै शाखा प्रमुख चौधरीले शैक्षिक विकासका लागि समान उद्देश्य भएका विषयमा छलफलका लागि सहकार्य गर्न सकिने बताउँदै प्रमाणपत्र आवश्यक पर्ने कक्षामा विद्यार्थी भर्ना गर्दा बिना प्रमाणपत्र भर्ना नगर्न कानुनमै उल्लेख गरिएको र शिक्षा शाखाबाट गतवर्ष विद्यालयहरुमा पत्र समेत पठाइएको उनको भनाइ छ।

कक्षा थप गर्ने सम्बन्धमा भने सामाजिक विकास समितिका संयोजक र शिक्षा शाखा प्रमुखसहितको अनुगमन टोलीले विद्यालयको भौतिक अवस्था लागयत विभिन्न पक्षको अनुगमन र अवलोकन गरी उपयुक्त ठानेमा दिने प्रक्रिया रहेको शाखा प्रमुख चौधरीले बताए।

अहिलेको अवस्थामा निजी विद्यालयले विभिन्न चुनौतिको सामना गर्नुपरेको बताउँदै सामाजिक विकास समितिका संयोजक चौधरीले संस्थागत विद्यालयको समस्या समाधान गर्न प्रक्रियागत रुपले सकारात्मक रहेको बताए। कोरोनाको अवस्था कम हुनासाथ नगरपालिकाले गर्न सक्ने सहयोगमा आफूले शिक्षा शाखासँगै संस्थागत विद्यालयसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता समेत गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *