प्रधानमन्त्री देउवाले भने- म पनि रेशम चौधरीको रिहाइको पक्षमा छु

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको प्रति दुःख व्यक्त गरेका छन्। ‘प्रतिपक्षीले आक्रमण गरेको ठानेको थिएँ उहाँहरूले केही भन्नु नै भएन। सुझावको रूपमा लिएको छु,’ विश्वासको मतको प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने,‘ओलीजीले प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा बोल्दा म सँधै आएको छु। उहाँ आइदिएको राम्रै हुन्थ्यो। सायद स्वास्थ्यले साथ नदिएर आउनु भ्याउन भएन जस्तो छ। प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलको नेता संसदमा आउनु लोकतान्त्रिक अभ्यास नै हो।’

मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई पनि दुःख दिएको देउवाले जिकिर गरे।

‘दुई तीन घण्टाअघि आफैंले भन्नुभयो बहुमत पुग्दैन, फेरि प्रधानमन्त्रीका लागि दाबी गर्नुभयो,’ उनले भने,‘दुई बजे राति नै प्रतिनिधिसभा भंग गर्न के जरूरी थियो। भोलि गरे हुन्थ्यो, पर्सी गरे हुन्थ्यो। रातभर राष्ट्रपतिलाई जाग्न बाध्य पारेर अनावश्यक दुःखमात्रै दिनुभयो। मध्यरातमा प्रतिनिधिसभा भंग भएको राम्रो देखिँदैन।’

लिम्पियाधुराको सवालमा सबै सांसदले समर्थन जनाएको बताउँदै उनले आफूले मात्रै गरेको भन्नु उपयुक्त नहुने जिकिर गरे। ‘लिम्पियाधुराको सवालमा कसले विरोध गर्‍यो, कसैले विरोध गरेको छैन,’ उनले भने,‘मैले गरेँ मैले गरेँ किन भनेको?’

राजनीतिक बन्दीलाई जेलमा राख्न नमिल्ने बताउँदै प्रधानमन्त्री देउवाले रेशम चौधरीलगायतका बन्दीहरूको रिहाइका लागि सरकारले पहल गर्ने आश्वासन दिएका छन्।

‘यहाँ रेशम चौधरीको कुरा उठेको छ, उहाँलाई मैले पनि चिनेको छु, मलाई दाइ भन्नु हुन्थ्यो,’ देउवाले महन्थ ठाकुरलाई भने,‘मन्त्रिपरिषदले चाहँदैमा कतिपय मुद्दामा रिहा गर्न मिल्दैन। तपाईंलाई थाहा नै छ। संविधानमा कहाँ समस्या छ। आउँ बसेर छलफल गरौं। त्यसका लागि त म तयार नै छु।’

राजनीतिक व्यक्तिलाई जेलमा राखेर समस्या समाधान नहुने बताउँदै उनले मधेश, पहाडमा देखिएका समस्याहरू मिलेर समाधान गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।

रेशम चौधरीलाई पहिलेदेखि चिनेको मानिस रहेको बताउँदै देउवाले उनको रिहाइको पक्षमा आफू पनि रहेको जिकिर गरे।

‘‘राजपा त पछि बन्यो, मैले उहाँलाई पहिलेदेखि चिनेको छु,उहाँ बाहिर आउनुपर्छ मैले पनि चाहेको छु,’ देउवाले भने,‘उहाँलाई रिहा गराउन मैले पहिले पनि प्रयास गरेकै हो।’




One thought on “प्रधानमन्त्री देउवाले भने- म पनि रेशम चौधरीको रिहाइको पक्षमा छु

  1. हामी रेशम चौधरी लाइ बाहिर हेर्न चाहन्छौं।मेची देखी महाकाली सम्मका पुरै युवाहरुको support छ रेशम चौधरीलाइ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *