प्रधानमन्त्री देउवाले लिए शपथ, यी हुन् देउवा क्याबिनेटका चार मन्त्री

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो। पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन्।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन्। त्यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *