जोर बिजोर प्रणाली हट्यो, सबै किसिमका सार्वजनिक गाडी चल्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ। त्यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ।

प्रशासनको अनुमतिमा लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन्। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ। असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

त्यस्तै उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ। अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ। तर व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दूरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ। यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो। औषधि र स्वास्थ्य सामाग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ।

त्यस्तै स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन। खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ। विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *