रेशम चौधरीको रिहाइबारे बोली फेर्दैछन् जसपा नेताहरु

थारु समुदायमा विगत ६ वर्षदेखि एउटै मुद्‍दामा बहसमा आइरहन्छ। जब जब भदौ नजिकिँदै जान्छ, त्यो मुद्दामा झनै चर्को बहस हुन थाल्छ। तर भदौ नलाग्दै विगत केही महिनादेखि प्रमुख बहसको विषयमा बनेको छ टीकापुर घटना र रेशम चौधरीको रिहाई। नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सारथी बनेका छन् जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतो।

जसपाका यी दुई नेताले ओलीसँग पटक पटक वार्ता गरे। वार्ताको प्रमुख एजेन्डा हुने गर्थ्यो, कैलाली क्षेत्र १ बाट निर्वाचित सांसद रेशम लाल चौधरीको रिहाई। यी एजेन्डालाई मुर्त रुप दिन सरकार र जसपाबीच कार्यदल पनि बनाइयो। तर उक्त कार्यदलले हालसम्म रेशम चौधरीको रिहाईबारे केही बोलेको छैन।

यसबीचमा जसपाका महन्थ र राजेन्द्र महतो पक्षका ९ जना नेता मन्त्रीसमेत भइसकेका छन्। सरकारकमा जानुअघि तिनै नेताहरुले भन्ने गर्थे- रेशम चौधरीको रिहाइ नभएसम्म जसपा सरकारमा सहभागी हुँदैन। यसो भन्नेमा महन्थ ठाकुर, राजेन्द्र महतो र पूर्व राजपाका लगभग सबै नेताहरु छन्। त्यतिमात्र होइन, बाबुराम भट्टराई पनि रिहाईको पक्षमा बोल्दै आए।

तर तिनै महन्थ, राजेन्द्रहरु सरकारमा सहभागी बनिसके, रेशम चौधरीको रिहाइ भने अहिलेसम्म हुन सकेको छैन। हुँदा हुँदा तिनै नेताहरुले अहिले रेशम चौधरीको रिहाइलाई लिएर बोलीसमेत फेरिसके।

मिडियामा आएर हाकाहाकी उनीहरुले भन्ने गरेका छन्- रेशम चौधरीलाई छुटाउँछु भनेर मैले कहिल्यै बोलेको छैन। प्राइम टेलिभिजनमा केही समयअघि जसपा नेता अनिल झाले रेशम चौधरीको रिहाइका लागि आफूले कहिले पनि नबोलेको बताए। ‘रेशम चौधरीको रिहाइको विषयमा म अनिल झाले रिहाइ गराउँछु भनेर कहिल्यै भनेको थिएन,’ अन्तर्वार्तामा उनले भनेका छन्।

तर तिनै अनिल झाले प्रतिनिधिसभा संसदमा पूर्व राजपाले विरोध जनाउँदै गर्दा आफ्नो पार्टीको निर्वाचित सांसद रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने, रिहाइ गर्नुपर्ने अडान राखेका थिए।

कुरा अनिल झाको मात्र रहेन, जसपामा सबैभन्दा शालिन नेताको रुपमा चिनिएका लक्ष्मनणलाल कर्णले पनि बोली फेरेका छन्।

एक रेडियोसँगको अन्तर्वार्तमा उनले रेशमलाल चौधरीलाई रिहाइ नगरेरसम्म सरकारमा जान्न भनेर आफूले कहिल्यै नबोलेको बताए। उल्टै उनले प्रश्न गरे- डिल्लीबजार जेलको ताला फोडेर रिहाइ गर्ने हो र?

उनी थप्छन्, ‘के गर्छ सरकारले? त्यो मुद्दा खोसेर ल्याएर फैसला गर्छ? सरकारले गएर डिल्लीबजारको जेलको ताला तोड्छ? अनि त्यस्तो कुरा हामीले भन्यौँ? अरुले जे भने होला। मैले भने? मैले भनेको छैन।’

तर सत्य के हो भने डिल्लीबजार जेलमै गएर पटक पटक जसरी छुटाउने भनेर आश्वासन दिने नेतामध्ये एक लक्ष्मण लाल कर्ण पनि हुन्। जेलमा मात्र होइन, अनिल झाजस्तै उनले पनि कयौंपटक संसदमा रेशम चौधरीको रिहाइका लागि सभामुखसँग माग गरेका छन्। तर सरकारमा सहभागी भएपछि नेताहरुले बोली फेरेको प्रस्ट हुन्छ।

रेशम चौधरीसँग सबैभन्दा् निकट नेताका रुपमा राजेन्द्र महतो मानिन्छन्। सरकारमा सहभागी हुनुअघि उनले पनि चर्काचर्का भाषण ठोकेर भन्थे- रेशमको रिहाइ नभएसम्म हामी सरकारमा जाँदैनौं। हामी सरकारबाट पीडित मान्छे हौं। हाम्रा धेरै माग मुद्दा छन्, जुन पूरा भएको छ। हाम्रा माग मुद्दाहरु पूरा नभएसम्म कुन मुख लिएर सरकारमा जाने?

यस्ता प्रश्न तेर्स्याउने महतो अहिले उपप्रधानमन्त्री बनेका छन्। उपप्रधानमन्त्री बनेसँगै उनको मुखमा बुजो लागेको छ। रेशम चौधरीबारे उनले पनि बोल्न छाडेका छन्।

तर राजेन्द्र महतोलगायत नेताहरुले के बुझ्नुपर्छ भने उनीहरुको पार्टी कैलालीका थारुहरुको भोटकै कारण बलियो बनेको हो। कैलालीका थारुहरु एकमत हुँदा रेशम चौधरी विजयी भए, उनीसँगै प्रदेशसभामा दुई जना सांसद चुनिए। प्रतिनिधिसभाको समानुपातिक सांसद चुनिए। तर तिनै नेताहरुले अहिले थारुको मतको दुरुपयोग गरिरहेका छन्। थारु समुदायको सेन्टिमेन्टलाई कदर गरिरहेको छैन।

महन्थ ठाकुर, राजेन्द्र महतोहरुले थारु समुदायको सेन्टिमेन्टलाई अझै नबुझ्ने हो भने अबको चुनावमा उनीहरु प्रदेश २ मा मात्र सीमित हुने पक्का पक्की छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *