नेपालले घरेलु मैदानमा उपाधि जितेको क्षण

त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो। दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनायो। नेपालले आज विपक्षी टोलीलाई टी-२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो। यसअघि टी-२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो।

नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। सिरिजमा उनले चौथो अर्धशतक प्रहार गरे। एउटै सिरिजमा चौथो अर्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन्।

भुर्तेलले आजको खेलमा ७७ रन बनाए। उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने। त्यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए। कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले २४ बलमा अविजित ५० रन बनाए। सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हाने। त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए। उनले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरे। बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई-दुई तथा अविनाश बोहराले एक विकेट लिए।

सिरिजको उत्कृष्ट खेलाडी बने कुशल भुर्तेल
नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बनेका छन्। पाँच खेलमा चार अर्धशतकसहित कूल २७८ रन बनाएका उनी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका हुन्। उनले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२, मलेशियासितको खेलमा ६१, नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ६२ तथा फाइनल खेलमा आज नेदरल्यान्ड्सविरुद्ध फाइनल खेलमा ७७ रन बनाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *