भारतीय दूतावासद्वारा ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्रदान

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाललाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई बिहीबार दूतावासले ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो। यी संघ संस्थाहरु नेपालका विभिन्न जिल्लामा छरिएर रहेका छन्।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ। यी एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण हाल सञ्चालन भइरहेको ‘इण्डियाएट७५’ उत्सवको एक हिस्साको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ।

सन् १९९४ यता भारतीय राजदूतावासले आजको समेत गरी हालसम्म करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ। यो वर्ष राजदूतावासले ‘एडभान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ। यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका हुन्।

त्यसैगरी राजदूतावासले आज प्रदान गरिएका ६ समेत गरी हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ।

स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा आज पनि थप एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गरेको दूतावासद्वार जारी विज्ञप्तिमा जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *