थारु युवा नेताको प्रश्न- आन्दोलन एउटाले गर्ने वार्ताको टेबुलमा अर्कै गएर बस्ने ?

थरुहट थारुवान राष्ट्रिय मोर्चाले हालसालै पूर्वी क्षेत्रमा भेला सम्पन्न गर्‍यो। मोर्चाको केन्द्रीय कार्यसमितिको आह्वानमा सप्तरी र महोत्तरीमा भेला आयोजना भएको थियो। दुबै भेलामा पूर्वी क्षेत्रका थारुहरुको भब्य उपस्थित रहेको थियो। भेलाले टीकापुर घटना र रेशम चौधरीलगायत राजबन्दीहरुको रिहाइका लागि दबाब दिन आयोजना भएको मोर्चाले जनाएको छ।

दुबै कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरुको उपस्थितसमेत रहेको थियो। सप्तरीको कार्यक्रममा नेता राजेन्द्र महतो सहभागी थिए भने महोत्तरीको कार्यक्रममा शरदसिंह भण्डारीको उपस्थिति रहेको थियो।

दुबै कार्यक्रममा जसपा केन्द्रीय नेताहरुलाई मोर्चाका युवा नेता सीताराम थारुले खबरदारी गरेका छन्। उनले रेशम चौधरी र टीकापुर घटनालाई सत्ताको बार्गेनिङमा नबनाउन आग्रह गरे। उनले भने- जसपाका केन्द्रीय नेता श्री राजेन्द्र महतोजी हुनुहुन्छ। सत्ताका लागि उहाँहरुलाई सबैतिरबाट तानातान छ। म उहाँलाई भन्न चाहन्छु, रेशम चौधरी र टीकापुर घटनालाई सत्ताको बार्गेनिङ नबनाइयोस्। उहाँहरुको रिहाइ विना शर्त होस्, ससम्मान रिहाइ होस्।

उनले जसपालाई यतिबेला मौकासमेत रहेकाले उधारो सम्झौता नगर्न आग्रह गरे। ‘अहिले जसपालाई ठूलो मौका छ। सायद यो मौका भोलि आउला नआउला। हामी थारुहरु खबरदारी गर्न चाहन्छौं। उधारो सम्झौता नहोस्,’ उनले भने। उनले महोत्तरीको कार्यक्रममा पनि शरदसिंह भण्डारीलाई यस्तै खबरदारी गरेका थिए।

युवा नेता थारुले सरकार र थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्तामा आपत्तिसमेत जनाए। उनले आन्दोलन अर्कैले गर्ने वार्ताको टेबुलमा अर्कै गएर बस्ने भन्दै प्रश्न गरे। ‘सरकार र थाकसबीच वार्ता हुनु राम्रो कुरा हो। वार्ता सम्झौतामा मात्र सीमित नहोस्। तर थरुहट ‘थ’समेत उच्चारण नगर्ने व्यक्तिहरु वार्ताको टेबुलमा बसेका छन्। त्यो चाहिँ राम्रो भएन। सायद उहाँहरुलाई थारुहरुको मुद्दा र सबालबारे पनि थाहा छ कि छैन,’ उनले भने।

उनले रेशम चौधरीसँग बिना समन्वय उनकै रिहाइ लागि थाकस वार्तामा गएको आरोप लगाए। ‘लक्ष्मण थारुले एकलौटीरुपमा वार्ता टोली बनायो भनेर चौतर्फी विरोध भयो। तर थाकसले पनि रेशम चौधरीसँग समन्वय नगरिकनै वार्ता टोली बनाएको छ। कमसेकम रेशम चौधरीसँग यसबारे समन्वय गर्नपर्थ्यो,’ उनले भने।

युवा नेता चौधरीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको बताए। जसले विधि र कानुनको कुरा गर्छ उनैले विधि र कानुन मिचेको उनले आरोप लगाए। ‘सबैभन्दा धेरै प्रधानमन्त्रीले नै विधि र कानुनको कुरा गर्नुहुन्छ। तर सबैभन्दा बढी उहाँले नै विधि र कानुन मिचेका छन्। उहाँले नै संसद विघटन गर्नुभयो। तर संसद पुनस्थापना भएपछि उहाँको नैतिकताले राजीनामा दिनुभएन,’ उनले भने।

उनले देशका सबै जनतालाई समान कानुन लाग्नुपर्ने तर हाम्रो देशमा त्यस्तो नभएको बताए। टीकापुर घटनामै पनि अपराधिकरणको भिल्ला भिडाएर केहीलाई जन्मकैदको सजाय सुनाइएको छ। तर कर्फ्युको समयमा थारुहरुको घर छानी छानी जलाउने, थारु चेलीमाथि दुर्व्यवहार गर्नेहरु आज खुल्लम खुला घुमिरहेको उनको आरोप छ। विधि र कानुनको कुरा गर्नेहरुले उनीहरुलाई पनि कानुनी कठघरामा ल्याउनुपर्ने उनको माग छ।

‘विगतमा झापा विद्रोहमा केपी ओलीले पनि मान्छे मारेका थिए। सशस्त्र जनयुद्धमा प्रचण्ड, बाबुरामले पनि १७ हजार बढी मान्छे मारेकै हुन्। उनीहरु यो देशको प्रधानमन्त्री बन्न हुने, तर पहिचानका लागि लड्ने थारुहरुलाई जेलमा कोच्ने, अपराधि बनाउने कार्य ठीक होइन,’ उनले भने।

उनले थारुहरुलाई जातिवादीको आरोप लग्ने गरेको बताए। तर सात प्रदेशमध्ये ६ वटामै एउटै समुदायका व्यक्तिको हालीमुहाली भएको उनको आरोप छ। ‘हामी अधिकारको कुरा गर्दा, थरुहटको कुरा गर्दा जातिवादीको आरोप लाग्छ। तर देशको सबै निकायमा एउटै जातिको वर्चस्व हुँदा उनीहरुलाई जातिको आरोप लाग्दैन। यो राज्यको नश्लीय सोँच हो,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *