थाकसको माग सुनेपछि सरकारी वार्ता टोलीले भन्यो- अध्ययन गरेपछि फेरि बोलाउँछौं

थारु कल्याणकारिणी सभा (थाकस) र सरकारबीच आज करिब दुई घन्टा वार्ता भएको छ। सिंहदरवास्थित गृहमन्त्रालयमा भएको वार्तामा थाकसको तर्फबाट विभिन्न मागहरु प्रस्तुत गरिएको छ। थाकसका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार यसअघि बुझाइएको १९ बुँदे मागपत्रबारे वार्तामा जानकारी गराइएको छ।

‘आजको छलफलमा हामीले आफ्ना मागहरु पेस गर्‍यौं। ती मागहरु पूरा गराउन अडान राख्यौं,’ चौधरीले थारुवानसँग भने। उनका अनुसार सरकारले मागपत्र अध्यययन गरेपछि मात्रै अर्को बैठक बस्नेछ।

‘उहाँहरुले हामीले प्रस्तुत गरेका माग पत्र अध्ययन गर्नपर्छ भन्नुभयो। अध्ययनपछि उहाँहरुले वार्ताको लागि फेरि बोलाउहुन्छ,’ उनले भने।

उनका अनुसार प्रमुख मागका रुपमा सांसद रेशम चौधरीलगायत टीकापुर घटनाका राजबन्दीहरुको रिहाइ रहेको बताए। ‘रेशम चौधरीको रिहाइबारे हामीले अडान राखेका छौं। हामीले टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्नुपर्छ भनेका छौं। कानुनी कुराहरु हेरेर अर्को वार्तामा छलफल गर्ने भन्नुभएको छ,’ उनले भने।

यता सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले थरुहट संघर्ष समितिको माग सकारात्मक रहे पनि अदालतमा गइसकेको मुद्दामा निर्णय गर्न गाह्रो हुने बताए। ‘उहाँहरुको कतिपय माग र मुद्दामा सरकार सकारात्मक छ। संविधान र कानुनले दिए बमोजिम सरकार त्‍यस विषयमा सकारात्मक भएको छ। तर कतिपय मागहरु अदालतमा गइसकेको विषय भएकाले सरकारले बोल्न मिल्दैन। अर्को वार्तामा यस विषयमा छलफल गर्छौ,’ उनले भने।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा तीन सदस्यी वार्ता टोली बनाएको छ। जसको सदस्यहरुमा प्रधानमन्नीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र ‌ओली निकट नेता भगवती चौधरी रहेका छन्।

त्यस्तै थाकसले रुक्मिणी चौधरीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ। जसको सदस्यमा नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरी, थाकसका महामन्त्री प्रेमिलाल चौधरी, कैलालीका नेता प्रभात चौधरी र थारु विद्यार्थी समाजको तर्फबाट चन्द्र प्रसाद चौधरी रहेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *