नियात्रा : कैलाली गोरपासुमा टेंस

जोगेठ्वा सोम डेमनडौरा
फागुन मसान्तको समय । बसन्त ऋतुको आगमनसँगै हाम्रो यात्रा बर्दिया देखि कैलाली कन्चनपुर र बाँके सम्मको लागि तय भएको हुन्छ । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं. ११ शंकरपुर बाट आभुषण बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुको अध्ययन भ्रमणलाई सहजीकरण गर्ने मेरो जिम्मेवारी थियो । यो जिम्मेवारी मेरा लागि खास बन्न पुग्यो ।

यात्राका पात्रहरु मध्ये आभुषण बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बासुदेव थारु र बाँकेका एकजना सामाजिक अभियन्ता भाई सुरेश ऋषि थारु खास थिए ।
मेरो दैनिक योजना अत्यन्त व्यस्त थियो । दीर्ग भाईले दुई हप्ता पहिले देखि नै महाशिवरात्रीका दिन दीर्ग भाईको खास योजनामा लेखक तथा नाटककार सुशील दाजु, कलाकार प्रणव आकाश, कथाकार शेखर दहित, दीर्ग भाई र म बर्दियाको डल्ला होमस्टेमा बिन्दास तरिकाले रमाइलो गर्ने योजना बनाएका थियों ।

यसबीचमा मित्र शेखरजीले आफ्नो दोस्रो कृति गयर्वा बुडुक ठाँह्रा फागुन २६ गतेका दिन कोहलपुरमा विमोचन हुन गई रहेकोले सो कार्यक्रमका लागि आमन्त्रण गरे । उनको लेखनशैली, कथा वस्तु, शब्द संयोजन, मौलिक र ठेट थारु शब्दको प्रयोगले म अत्यन्त प्रभावित भएको छुँ । साथै, पूर्णिमा साहित्य प्रतिष्ठान साहित्य क्षेत्रमा एक नेतृत्वदायी भूमिकामा आएको संस्थाले यो जिम्मेवारी बहन गरेकोमा म त्यहाँ जसरी भए पनि उपस्थित हुने वाचा गरें । म त्यहाँ पुग्दा सुशील दाजु, शेखर दहित, सागर गैरे, दीर्ग भाई र अन्य विशिष्ट साहित्यकारहरु पहिले देखि नै साहित्यिक माहोलमा गफिनु भएको थियो ।

कथाकार माया ठकुरी सम्मानित तथा पुरष्कृत हुने सो कार्यक्रममा प्राज्ञ सदस्यहरु डा. योगेन्द्र यादव, डा. उषा ठाकुर र कथाकार सनत रेग्मीज्यूको सामिप्यतामा अभिन पाउँदा अत्यन्त खुसी लाग्यो । साहित्यको विकास र खास गरेर अनुवाद साहित्यको विषयमा मैले धेरै सिक्ने अवसर पाएँ । कार्यक्रममा आधा प्रतिशत जति थारु साहित्यमा केन्द्रित रहेकोमा हामीले कमसेकम यति गर्न सकेका छौं जस्तो लाग्यो ।

कार्यक्रम पश्चात म, सुशील दाजु, मित्र शेखर दहित र भाई दीर्गको टोली मित्र कृष्ण चौधरीको गाभर भ्याली होमस्टेतिर लाग्यो । कार्यक्रमको समीक्षाको साथै त्यसबाट भएको सिकाईको बारे एकआपसमा आदानप्रदान भयो । शेखरजीले आफ्नो कारुणीक जीवन भोगाई, बुवासँगको सिकाई, आफ्नो दाईसँगको मायाको बारेमा बताउँदा म भावुक हुन पुगें । उनले मेरो साहित्यिक र पत्रकारितामा गरेको संघर्षबारे स्मरण गराए । २०६२ तिर हो, टेंस र सरासर पत्रिका बाट हात नझिके मेरो दुवै आँखा झिकिदिने अज्ञात नामबाट पत्र मार्फत धम्की आएको थियो । दीर्ग भाईले आफुले रुची गरेको संगीतको पढाई आर्थिक समस्याले गर्दा स्थगित गरेको र त्यसपछिको संघर्षको यात्रा कम्ता कारुणीक छैनन् । उनी औपचारीकरुपमा उच्च शिक्षा लिन नपाए पनि विश्वको धेरै नेताको बारेमा र विश्वका धेरै देशको बारेमा राम्रो ज्ञान छ । उनको मिजाशिलो व्यवहार र मेहनतले मलाई असाध्यै प्रभावित पारेको छ ।

रुपन्देहीबाट आउँदै गरेको आभूषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्ययन भ्रमण मैले सहजीकरण गर्नुपर्ने भएकाले दीर्ग भाईको अनुरोध पुरा गर्न सकेन । म विहानै गाभर भ्यालीबाट बर्दियाको लागि निस्किएँ । मेरी श्रीमती आरतीलाई कोहलपुर सम्मका लागि धम्बोझीमा पुर्याएर म बर्दिया हानिए । बिचबिचमा रुपन्देहीको टिम र कार्यालयका साथीहरुलाई सम्पर्क गर्दै गएँ । रुपन्देहीको टिम कोठियाघाटमा फोटो शेशन गरेर भर्खरै युनिक नेपालका लागि बसमा चढ्नु भएको रहेछ । म ९ः१४ मा युनिक नेपाल पुग्दा उहाँहरु फ्रेश हुँदै हुनुहुन्थ्यो ।

खानापछि, डा. गोपाल दहितले आफुले विद्यावारिधी गरेको सोधपत्र आदिबासी थारुः बुद्ध र बुद्धिजमसँगको सम्बन्ध बारे छोटकरीमा प्रस्तूतीकरण गर्नुभयो । उहाँले अबको २०७८ को जनगणनामा थारुहरुले जाति थारु, भाषा थारु र धर्म बुद्ध लेखाउनु पर्ने आग्रह गरे । धर्मका बारेमा म अझै पनि पुर्णरुपमा बुद्ध लेखाउनुपर्छ या अन्य कुनै स्पष्ट हुन सकेको छैन ।

थारु समुदायको गाउँको साझा देवता हुने स्थान ठन्ह्वा हुन्छ । ठन्ह्वामा जगनठ्या मुख्य देवता भई पाँच पाण्डवको पनि स्थान हुन्छ । छेउमा डहरचन्डी हुने गर्छ । हरेक घर या कुनै गोत्रको एक घरको डिउह्रारमा थारु थर अनुसारको देवता हुन्छ । पाटा जति वटा भए पनि बीचको पाटा मुख्य मानिन्छ । आकारमा ठुलो र त्यसमा सानो डेल्वा माथि मैया, खेखरी, सौंरा, बहर्नी अनिवार्य रहन्छ । हरेक पुजा कर्म त्यहि पाटाबाट शुरु गरिन्छ । हरेक घरको उत्तरको पाटामा थर अनुसारको माटोको घोडा हुन्छ । थर अनुसार कसैको भेंर्वा र गुनी हुन्छ भने कसैको भेंर्वा मात्र पनि हुन्छ । यि भनेका थर अनुसारका देवता हुन् । पाटाको दक्षिणी भागमा प्रायः चुरुन्या हुने गर्छ । थारु थर अनुसार कसैको घरको बहरीमा पस्का र आँगनको बिचमा पनि देवतालाई पुजा गर्ने स्थान हुने गर्छ । जोगेठ्वा थरका थारुहरुको पस्कामा जोगेठ्वा देवता (उनीहरुको अनुसार सर्प सहित जोगी हुने) हुने र सोहि स्थानबाट आँगनमा सर्पलाई पुजा गरिने बताउछन् ।

एतिहासिक दस्तावेज, सामाजिक रितिरिवाज, बानी व्यवहार, प्रयोग गरिएका भाँडाकुँडा र भौगोलिक अवस्थितिका अनुसार बुद्ध थारुकै सन्तान भएको कुरा उल्लेख गर्नु भएको छ । थारु समुदाय आदिबासी धर्तीपुत्र हुन् भन्नेमा कसैको बिमती छैन । बुद्ध जन्मनु भन्दा पहिले पनि त थारु समुदायले मान्ने कुनै न कुनै धर्म थियो । बुद्धले बुद्धत्व प्राप्त गरि सकेपछि उनको शिक्षालाई बुद्ध धर्मकोरुपमा मान्न थालियो । अहिले बुद्ध धर्म मान्नेहरुमा नेपालमा खासगरि लामा, मगर र अधिकांश अन्य देशहरुमा चीन, कोरिया, जापान, म्यानमार रहेका छन् । हामीले अहिले मान्न भन्न थालिएको बुद्ध धर्म उनीहरुको जस्तै हो या फरक? यो मेरो पहिलो जिज्ञाशा हो । उस्तै हो भने थारुको घरमा भएका देवताहरुको नामाकरण के गर्ने, पूजा बिधी के गर्ने ? बुद्धसँग व्यवहार मिल्छ । नश्ल मिल्छ । सबैकुरा मिल्छ । यसो भन्दैमा, त्यहि धर्म हो भन्ने कुरा कसरी पुष्टि गर्ने ? कतिपयले के ब्याख्या गर्छन् भने थारु समुदायको देवताको आकृति फरक र पुजा बिधि फरक भएता पनि देवताको नाम हिन्दु धर्मका पात्रसँग मिल्ने गरेको र काव्य तथा गीतहरु पनि हिन्दु धर्मका पात्रसँग मेल खाने भएकोले हिन्दु हो भन्ने गरेका छन् ।

नेपाल सरकारले तथा राज्य सत्ताले अहिले पनि थारुहरुलाई सोध्दै नसोधी हिन्दु लेखि दिएको छ । हामी थारुहरु पनि हाम्रो धर्म के हो भन्ने अन्यौलमा भएकोले कहिँकतै लेख्नुपर्यो या भन्नुपर्यो भने रतन्तेको आधारमा हिन्दु नै भन्ने गरेका छौं । यहाँनिर बिचार गर्नुपर्ने के देखिन्छ भने, थारु देवताका नाम हिन्दु धर्मका पात्रहरुसँग मिल्ने गरेको भएता पनि पुजा विधी र देवताका आकार पुर्णरुपमा फरक छ । बुद्ध भनिएता पनि त्यसको बारेमा अधिकांशहरु जानकार नै छैनन् । रुपन्देहीको आभुषण बचत तथा ऋण सहकारी संस्था लिं का अध्यक्ष तथा शिक्षक बासुदेव थारुले यता न उता ढुलमुल हुनु भन्दा हामीले बुद्ध धर्म भन्नु उपयुक्त हो । मेरो भने केही फरक बिचारमा थारु धर्म नै भने कसो होला ? हामीले बढीजसो प्रकृतिको पुजा गर्छौं । प्राकृत धर्म हाम्रो जिब्रोले छुँदैन । यसर्थ, थारु समुदायको थारु धर्म भनेर सबै थारुहरुमा एकताको माला गुठ्न उपयुक्त देख्छुँ ।

हाम्रो यात्रा राजापुर बजार, टीकापुर पार्क हुँदै कैलालीको भादा होमस्टेमा बिस्रामको लागि पुग्यो । राति खाना अबेर भयो । विहान हामीसँग केही समय बच्यो । मैले थारु थर र उनीहरुको देवताको बारेमा बुझ्ने मौका छोपे । भादा होमस्टे घर नं. ५ मा गएर उहाँको डिउह्रारमा भएको डिउँटा हेरियो । उहाँहरुले आफ्नो थर चिल्रउह्वा भएको बताउनु भयो । उमेरले ४० नाघेको दम्पत्ति हुनुपर्छ । मैले उहाँहरुलाई गुर्वावा, मैया, खेखरी, सौंरा र उत्तरतिर भएका घोर्वा (घोडा) डिउँटाका नाम र भुमिका सोधें । झोर्यामा गुर्वावा नभएको बताउनु भयो । डिउँटाका नाम त भन्नु भयो र उनीहरुको भुमिका भन्न सक्नु भएन । चिल्रउह्वा थर कसरी हुन गयो यसबारे भन्न सक्नु भएन । हामी थारु समुदायको सबैभन्दा ठुलो कम्जोरी यहि हो । हाम्रो धर्म र पहिचानमा भएको सबैभन्दा ठुलो प्रहार यहि हो । हामीले अनिवार्य नेपालीमा समावेश गराएका हिन्दु धर्मका देवी देवताको बारेमा पढ्न बाध्य भयौं । तर हामीले आफ्नै डिउँटाका बारेमा कहिँ पनि पढ्न पाएनौ । हाम्रा आजा पुर्खाहरुले हाम्रा डिउँटाहरुलाई भुट्वा बनाई हामीलाई डर देखाई रहे । पुजा मात्र गर्ने तर यि डिउँटाका भुमिका यि हुन् भनेर तिनका महत्व कहिल्यै बुझेनौ । यसकारणले पनि हाम्रो थारु समुदायका आफ्ना देवता झाडीमा र धुलाम्य हुन्छन् । अरुका देवताालाई पोस्टरमा चम्काएर अगरबत्ती बाल्छन् । यो हामीले तत्काल सुधार गर्नुपर्छ । अरुका मठ मन्दिरमा ढोग लाग्ने हामी आफ्नो ठन्ह्वा र डिउह्रार र मर्वाका डिउँटालाई ढोग लाग्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

विहानको खानापछि अत्तरिया हुँदै दोधारा चाँदनीलाई जोड्ने महाकाली नदीमा बनेको झोलुङ्गे पुलको अवलोकन पश्चात कैलालीको घोडाघोडी नगरपालिका अवस्थित माघी थारु होमस्टेमा बास बस्न आयौं । होमस्टेको कोठाको अवलोकनको क्रममा घर नं. २ मा गएँ । एकजना दाईले पाल्हिमा बसेर सोयबिनसँग मजाले चुस्कि दिदै हुनुहुन्थ्यो । उहाँको आमा पनि हुनुहुन्थ्यो । उहाँको थरको बारेमा सोधें । कट्युँ पहरिया थारु भन्नु भयो । मैले पहिलो पटक सुनेको थर हो यो । यो थरको मिथक बारे जान्न मन लाग्यो । उहाँले आफ्ना पुर्खाहरुले भन्दै आएको कुरा मलाई सुनाउनु भयो । उहाँको अनुसार, पहाडमा गोठालो गएको बेला एकजना पहाडीसँग भेट भयो । रस्सि बाँट्ने बेला दुवै जनामा को तगडा भन्ने प्रतिस्पर्धा चल्यो । रस्सि जलाएर त्यसलाई नभाँचिकनै जसले किला ठोक्न सक्छ सो नै बिद्धत हुने प्रतिस्पर्धा चल्यो । पहाडीले सकेनन् । तर थारुले मजाले किला ठोके । जलेको रस्सि पनि भाँचिएन । पहाडीले भनेछन् तिमी कट्युँ थारु रहेछौ । त्यसबेला देखि कट्युँ पहरिया थारु थर रहन गएको ति दाई र उनको आमाले भन्नु भयो ।

राति साँस्कृतिक कार्यक्रम हेर्ने भनिएता पनि मौका जुरेन । विहान उठेर गाउँ घुम्न निस्कियौं म र सुरेश ऋषि भाई । थरले गरर्या कुसम्या बताउने भाई बुवा र दुई भाईको नाममा समेत ऋषि जोडिएको बताए । तर किन जोडिएको भन्ने बारे बताउन सकेनन् । गाउँको पश्चिमतिर लाग्दा मैले ढकमक्क फुलेको एउटा रुख देखें । केहि हप्ता पहिले मेरी श्रीमतिसँग हिंड्दै गर्दा राजापुरको धोविनपुर नजिकको गाउँमा भएको ढकमक्क फुलेको रुख देखाउँदै टेंस फुल भनेर चिनाएकि थिइन् । त्यत्तिबेला साथमा क्यामरा नभएकोले अर्को पटक अवलोकन गर्न आउने मनसाय बनाए । त्यो मौका माघी गाउँमा जुर्यो । आसपासका एकजना महिला र अर्को पुरुषलाई सोध्दा पर्सा फुल बताए । थारु भाषामा कतै टेंस त कतै पर्सा, पराँस भनिदो रहेछ । नेपालीमा पलाँस । नजिकै गएँ, जमिनमा झरेको फूल उठाएँ । रुखमा भएको फूलको फोटो लिएँ । तल खसेको फूलको फोटो खिचें ।

मैले यो फूललाई बडो नजिकबाट हेरें । यसो हुनुमा पनि कारण छ । यो फूलसँगको सामिप्यता र घनिष्ठटा छुट्टै छ । २०६२ सालतिरको कुरा हो । नेपालगन्जमा आदर्श उच्च माविबाट १२ कक्षाको अध्ययन सक्काएर महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा भर्ना भएको थिएँ । देशमा ११ बर्षे जनयुद्ध अन्तिम चरणमा थियो । त्यत्तिबेला मित्र नरेश लालकुसुम्या, राज कुमार कुसुम्या, निराजन रत्गैंया, रघु थारु, बिमल चौधरीको बिशेष सहयोगमा सरासर साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनमा ल्याएका थिएँ । म सम्पादक थिएँ ।

टेंसको फूलले मलाई टेंस पत्रिकाको स्मरण गरायो । क्याम्पसमा गठित थारु विद्यार्थी परिवार माओवादीले चालेको सशस्त्र युद्धका कारण सुषुप्त अवस्थामा थियो । हामी प्रवेश भई सकेपछि पुनः उठाउनुपर्छ भन्ने मनसायले पुनजागृत गर्यों । त्यसबेला कोषमा ५२ रुपैया मात्र थियो । मैनापोखरका एकजना मित्र ठग्गा थारुको अध्यक्षतामा थारु विद्यार्थी परिवारको पुनगर्ठन भयो । म उपाध्यक्ष भएँ । द्धन्द्धका कारणले स्थगित थारु विद्यार्थीको मुखपत्र टेंस पुनः प्रकाशन गर्ने योजना बन्यो । म त्यसको प्रधान सम्पादक भएँ । त्यहि बेला डंगौरा र डेसौरी थारु भाषाको हल्का बहस पनि चलेको थियो । टेंसमा यस सम्बन्धि लेख पनि छापिएको थियो । त्यहि बेला, उक्त दुबै पत्रिकाबाट हात नझिके दुवै आँखा निकालि दिने फत्ते बहादुर थापाको नामबाट बायाँ हातले लेखिएको धम्कीपूर्ण अज्ञात पत्र आयो । देशमा द्धन्द्ध चलि रहेको बेला यस्तो पत्र हाँतमा पर्दा म निकै डराएको थिएँ । पत्रिका निकाल्ने धित मरेको थिएन । रोक्ने बारे एकरत्ति पनि साचिएन । तर सम्पादकको नाम बदलेर प्रकाशनमा ल्याई रह्यों । सरासर पत्रिका मेरी श्रीमतिको सम्पादकत्वमा निरन्तरता दियों भने टेंस पत्रिका राज कुमार कुसुम्याको सम्पादकत्वमा निरन्तरता दियों । म भित्रभित्रै काम गरि रहें । थारु भाषा र साहित्यको उत्थान, विकास र पहिचानको लागि मेरो प्रयास कहिल्यै रोकिएन ।

धम्कीपूर्ण पत्र आएको बारे हालका कान्तिपुरकर्मी तथा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दाई ठाकुर सिंह थारुलाई जानकारी गराएँ । त्यसबेला उहाँ त्रिभुवनचोक नजिक कार्यालय रहेको मेघराजको सम्पादकत्वमा प्रकाशन भई रहेको मध्यपश्चिम पत्रिकामा काम गर्नु हुन्थ्यो । त्यसबेला मेरो समस्या बारेमा दाईले कुने रेस्पोन्स नदिएकोमा साह्रै दुःख लागेको थियो । उहाँ नेपाली भाषाको पत्रकारिता लाग्नु भएको थियो र म थारु भाषा र साहित्यको विकास र उत्थानका लागि मरिमेटेको थिएँ । अक्षरको खेति गर्ने एउटा थारुले अर्को थारुलाई निराश बनाएको दिन थियो त्यो ।

माघी होमस्टे मेरो लागि अत्यन्त महत्वपूर्ण बसाई बन्यो । जहाँबाट मैले पुनः ऐतिहासिक दिनको स्मरण गर्न पाएँ । थारु भाषा, साहित्य र पत्रकारिताका लागि गरिएको संघर्षको यात्रा स्मरण गर्ने मौका पाएँ ।
विहानको खानापछि हामी घोडाघोडी मन्दिर र तालको अवलोकनका लागि हिंड्यो । रुपन्देहीको टिम बुद्ध धर्म प्रति बढी आस्था राख्ने हुनाले घोडाघोडी मन्दिरको दर्शनमा ध्यान दिएनन् । तालको अवलोकनमा समय दिए । म भने, घोडाघोडी मन्दिरको खोजको लागि क्यामरा र माइक तयार गरें । साथमा थिए सुरेश ऋषि भाई । उनी नेप्लिज थारु युनिटी पेजका एडमिन रहेछन् । उनले मलाई फेसबुकका साढे तीन बर्ष देखि फलो गरेका रहेछन् । आभूषण सहकारीले जुराई दिएको जम्काभेटमा उनी मलाई भेटेर असाध्यै खुसी भए ।

घोडाघोडीको थारु नाम घोरीघोरा हो । तर, नेपालीकरण गरेर यसको नाम घोडाघोडी गराइयो । थारुका देवीदेवता (घोर्वा) मात्र रहेको उक्त ठन्ह्वा हिन्दुको मन्दिर जस्तै बनाइएको छ । वरपर हिन्दुका मन्दिर धेरै बनाइएको छ । थारुका धर्म र देवता माथि जबरदस्त हस्तक्षेप भएको महशुस हुन्छ । हुनतः देवता सबैका साझा हुन् यद्यपी थारुको पहिचान भने खतरामा परेको देखिन्छ । मैले घोडाघोडी मन्दिरका मुख्य पुजारी गुलाबुदास थारुसँग कुरा गरें । उनी निधारको बिचमा बिच भागमा रातो र वरीपरी सेतो टीकाधारी हुन् । उनलाई मन्दिर भित्र रहेको घोडाको नाम र भूमिकाको बारेमा बताई दिन भने । बघारी बाहेक बताउन सकेनन् । तपाई यस्तो टीका किन लगाउनु हुन्छ ? मन्दिरमा घन्टी किन यति धेरै बाँधिएको छ भन्ने लगायतको जिज्ञासा राखें । उनले आफु रामको भक्त भएको र राम थारुका देवता भएका बताए । नेपालको तराई भुभागमा महिषपालवंशी अहिरहरुको प्रस्थान सँगै थारु समुदायमाथि उनीहरुको ठुलो प्रभाव रह्यो । उनीहरुबाट नै थारुहरुले आफ्नो स्यावा ढ्वाग बिर्सेर रामराम र सिताराम भन्न थाले । भनिन्छ, रामायण एक काल्पनिक कथा हो जसको पात्र राम पनि काल्पनिक । हामी थारुहरु यति ठुलो भ्रममा परेर आफ्नो देवता र धर्मलाई बिर्सेका छौं ।
उनी भन्छन्, आफ्नो भाकल राखेकाले त्यस्ता व्यक्ति मन्दिरमा घन्टी चढाउने गर्छन् । जबकी थारुको ठन्ह्वा, मर्वा या डिउह्रारमा कहिल्यै घन्टी चढाइन्न । थारु भन्दा धेरै गैर थारुहरु सो मन्दिरमा दर्शन गर्न जाने सकरात्मक भएता पनि यो मन्दिरलाई विस्तारै हिन्दुकरण गरिदै छ ।

यात्रामा थुप्रै मनकारीहरुसँग भेट भयो । सम्बन्ध बढ्यो । सबैको नाम उल्लेख गर्न नसकेकोमा कतै कतै अपुरो पनि लागेको छ । यो यात्राको मौका जुराई दिने युनिक नेपालका कार्यकारी अध्यक्ष आदरणीय दाजु प्रिम बहादुर थारुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । यात्रालाई ओजपुर्ण बनाई दिने र अध्ययनात्मक बनाई दिने आभुषण बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देहीका अध्यक्ष बासुदेव थारु लगायत सहकारीका सम्पूर्ण शेयर सदस्यप्रति आभारी छुँ । यात्राको क्रममा मिठो मिठो खाना पकाई खुवाउने दिदीहरु मेरा धन्यवादका पात्र हुन् ।

बसको क्याबिनमा बोनट पछाडी साँगुरो सिटमा खुट्टा खुम्च्याएर गरेको कठिन जस्तो लाग्ने यात्रालाई रमाइलो बनाई दिने सो बसका मुस्कुराई रहने चालक मित्रलाई धन्यवाद नदिई रहन सकिन्न ।
लेखक जंग्रार साहित्यिक बखेरी, नेपालका केन्द्रीय अध्यक्ष हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *