सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् ।

त्यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिईन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । त्यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भएकी छिन् ।ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *