थारु राष्ट्रिय साहित्य सम्मेलन सुर्खेतमा हुने

थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ। थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेतलगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो।

यही चैत २१ र २२ गते राष्ट्रियस्तरकै साहित्यक सम्मेलन आयोजना गरिएको थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिका संयोजक एवं थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए। उनका अनुसार पहिलो थारू साहित्यिक मेला २०७३ मा दाङको घोराही भएको थियो। त्यसयता निरन्तर साहित्यिक मेला हुँदै आएको भएपनि गत वर्ष कोभिड-१९ को कारणले हुन नसकेको सर्वहारीले बताए।

थारू भाषा, साहित्य, कला संस्कृति प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाहरूबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने छ।

थारू राष्ट्रिय साहित्यिक सम्मेलनको मूल आयोजक समितिका सदस्यकाअनुसार थारु लोककला र सौन्दर्यबोध, निमाङ थारु लेखनशैली, थारु गीतको बाटो कता?, बाल साहित्य कसरी लेख्नेलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ। त्यसैगरी थारु पहिचानको सवालहरु, सुर्खेतमा थारु पहिचान, थारु भाषाको कविता वाचन, गैरथारु साहित्यकारको नजरमा थारु साहित्य, लोकसाहित्यको अवसर सम्भावनालगायत विषयमा बृहत छलफल गर्ने कार्यक्रम रहेको डेमनडौराले बताए।

यसैगरी साहित्यिक सम्मेलनमा यो वर्षमा प्रकाशन भएका दर्जन बढी पुस्तकको विमोचन गर्ने र थारु भाषाका विभिन्न पुस्तक प्रदर्शनी तथा बिक्रीवितरणको लागि स्टलहरु राखिने उनले जानकारी दिए। दुई दिनसम्म चल्ने साहित्य सम्मेलनमा विशेष वक्ताको रुपमा आख्यानकार महेशविक्रम शाह, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु, मातृभाषा साहित्य विभागका प्राज्ञ लक्ष्मी माली, भाषा विभाग प्रा.डा. प्राज्ञ योगेन्द्र यादव, बालसाहित्य तथा लोकसाहित्य विभागका प्राज्ञ देवी नेपाललगायतको सहभागिता रहने मूल आयोजक समितिको संयोजक सर्वहारीले जानकारी दिए।

त्यसैगरी सम्मेलनमा देशभरिका करिब दुई सय बढी स्रष्टाहरुको सहभागिता रहने सम्मेलन व्यवस्थापन समितिका संयोजक मानबहादुर पन्नाले जानकारी दिए। उनकाअनुसार थारु बाहुल्य रहेका तराईंका सबै जिल्लाका थारु साहित्यकार, लेखक, पत्रकारको सहभागिता रहने छ। यो मेलालाई अन्तर्राष्ट्रियस्तरको बनाउन भारतमा बसोबास गर्ने थारुहरुलाई पनि बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *