रेशम चौधरीलाई रिहाइ गर्न सरकार सकारात्मक छ :  सुवासचन्द्र नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
जसपाका नेताहरूसँग पछिल्लो समय सत्ता साझेदारीलगायतका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्ताको अगुवाइ गरिरहेका नेम्वाङले बुधबार उक्त कुराको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेम्वाङले भने, ‘अहिले विशेषतः उहाँहरू रेशम चौधरीलगायत मधेस आन्दोलनको सन्दर्भमा भएका जुन मुद्दा, मामिला छन् त्यसको बारेमा उहाँहरू गम्भीर हुनुहुन्छ। त्यसलाई फिर्ता गर्नुपर्‍यो, रिहाइ गर्नुपर्‍यो भनेर उहाँहरूले माग गरिराख्नुभएको छ। त्यसबारेमा सरकार सकारात्मक छ। सरकार गम्भीर छ भनेर हामीले भनेका छौं।’
प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई सरकार रिहाइ गर्न तयार रहेको हो ? भन्ने प्रश्नको जवाफमा नेम्वाङले भने, ‘हामी कानुन बमोजिम अगाडि बढ्छौं । कानुन बमोजिम अगाडि बढ्छौं भनेकै कारण हामी सकारात्मक छौं भनेका हौं ।’
नेम्वाङले जसपाले सत्ता साझेदारीका विषयमा कार्यदल बनेको कुरा अस्वीकार गरेका छन्। जसपाभित्र अध्यक्ष महन्त ठाकुरले सत्ता साझेदारीबारे छलफल गर्नका लागि कार्यदल बनाएको भन्ने विषयले विवाद उत्पन्न भएको बेला नेम्वाङको उक्त भनाइ आएको हो । मंगलबार बसेको जसपाको संसदीय दलमा पूर्व राजपाका नेताहरूको मात्रै कार्यदल बनाएको हो भनेर अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले अध्यक्ष ठाकुरलाई सोधेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *