सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी, महेश चौधरी उत्कृष्ट प्रशिक्षक

एपिएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार पाप्त गरिन् । लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् ।

मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरे । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

विधागततर्फ नेपाल पुलिसकी युवा स्टार उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित भइन् । पुलिस अन्तिम खेलमा पराजित भएपनि उनको प्रर्दशन प्रतियोगिताभर उत्कृष्ट रह्यो । एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् ।

न्यु डायमन्ड लिगमा तेस्रो हुँदै एक लाख हात पारेको थियो । प्रतिभाको प्रर्दशन प्रतियोगिताभर उत्कृष्ट रहेको थियो । एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि सुरु भएको प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । न्यु डायमन्ड तेस्रो, आर्मी चौथो र लुम्बिनी पुछारमा रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *