सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र चन्दले संयुक्त सम्बोधन गर्ने

सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै विप्लव समूहले हिंसा छोड‍्ने सहमति जनाएको छ। बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई वार्तामा बसेका थिए भने विप्लवको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा वार्तामा बसेका थिए।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन्। फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्। सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ। सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ।

यस्तो छ तीन बुँदे सहमति
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लवबीच तीन बुँदे सहमति भएको छ। सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले तीन बुँदे सहमति पत्र सार्वजनिक गरेका छन्।

सहमति पत्रअनुसार विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने रहेको छ।

त्यस्तै सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु सहमति पत्रमा समावेश गरिएको बताइएको छ। सरकार विप्लवबीच सहमति हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता भएको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *