केपी ओ‌लीले शिलान्यास गरेको शिलालेख कसले तोडफोड गर्‍यो? वाडाध्यक्ष भक्तु चौधरीको खुलासा

नेपालकै दोस्रो लामो राप्ती पुलको सम्पूर्ण भाग गढवा गाउँपालिकाको वडा नं. २ महादेवाको मौजामा अवस्थित छ। तर, प्रधानमन्त्रीले उद्घाटन गरेको शिलालेखमा त्यस ठाउँको नाम सिसहनीया लेखिएको थियो। सिसहनीया राप्ती गाउँपालिका अन्तर्गत पर्छ। गढवा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भक्तु चौधरीले महदेवालाई सिसहनीया लेखिएकोमा स्थानीय असन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘त्यसभन्दा ४-५ सय मिटर उत्तरको सानो कुलोमा निर्मित पुल उत्तर महदेवामा पर्छ भने त्यसभन्दा दक्षिणको राप्तीको पुलमा कसरी सिसहनीया लेखिएको हो,’ वडाध्यक्षले प्रश्न गरे, ‘मेरो विचारमा आफ्नो ठाउँमा निर्मित पुलमा अरूको ठाउँको नाम लेखिएको हुँदा शिलालेख तोडफोड भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।’ त्यसअघि स्थानीयले शिलालेखको नाम सच्याउन आफूलाई आग्रह गरेको र आफूले सम्बन्धित निकायलाई उक्त कुरा अवगत गराएको भए पनि सुनुवाई नभएको वडाध्यक्ष चौधरीले सेतोपाटीलाई बताए।

‘मैले पुल उद्घाटन हुनुभन्दा पहिल्यै त्यो कुरा स्थानीय नेता र पुल निर्माण कम्पनीलाई भनेको थिएँ। तर, त्यसको बेवास्ता भयो,’ चौधरीले भने, ‘समयमै नाम सच्चाएको भए सायद आज शिलालेख यति छिट्टै तोडफोड हुने थिएन कि?’ नेपालकै दोस्रो लामो पुल निर्माण भएपछि सर्वसाधारण स्थानीय खुसी भए पनि आफ्नो ठाउँको नाम त्यसमा अंकित नगरी अर्कै नाम लेखिएको प्रति दुःखी रहेको वडाध्यक्ष चौधरीले बताए।

‘विदेशमा रहेका हाम्रा गाउँ ठाउँका मानिसले पनि समाचार हेरेछन्, युट्‍यूवमा खोजेछन्,’ उनले भने, ‘त्यसमा महदेवा हुनुपर्नेमा सिसहनीया लेखिएकोमा बिदेशमा भएकाले पनि आक्रोश पोख्दै आएका थिए। त्यसैको परिणाम शिलालेख फोडिएको हुनुपर्छ‍।’ वडाध्यक्ष चौधरीले आफ्नो ठाउँको नाम आओस्, पहिचान स्थापित होस भन्ने चाहाना राख्नुलाई अन्यथा नलिन आग्रह पनि गरे। शिलालेख ४/५ दिन अघि तोडफोड भएको भन्ने खवर आफूले पाए पनि शनिबार त्यहीँ पुल भएर हिँड्ने क्रममा आफूले तोडफोड भएको अवस्थामा देखेको उनले बताए।

-साभार सेतोपाटी




Leave a Reply

Your email address will not be published. Required fields are marked *