नाबालक करण चौधरीको टाउकोमा बन्दुक राखेर बयान भन्न लगाएको खुलासा

७ भदौ २०७२ मा थरुहट आन्दोलनको क्रममा टीकापुर घटना घट्यो, जहाँ ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भयो। घटनालगत्तै नाबालक करण चौधरी पक्राउ परे। ११ वर्षको उमेरमा पक्राउ परेका उनी सुस्त मनस्थितिको रहेको उनको परिवारले दाबी गर्दै आएको छ। तर प्रहरीले उनकै बयानका आधारमा रेशम चौधरीलगायतका अभियुक्तहरु सार्वजनिक गर्यो। रेशम चौधरीलाई त झन् घटनाको योजनाकार मानेर प्रहरीले मस्ट वान्टेडको सूचीमा राखेको थियो।
११ वर्षका तिनै करण यतिबेला १६ वर्ष पुगेका छन्। सुस्त मनस्थितिकै भए पनि उनीमाथि अपराध भएको उनले बुझ्न थालेका छन्। राजधानीमा आयोजित टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा उनले भने, प्रहरीले मलाई भ्यानमा राखे। जे जे भन्छु, त्यो भनिनस् भने हान्छु।
त्यतिमात्र होइन, टाउकोमा बन्दुक राखेर कुटपिट गरेको उनले बताए। आफूहरुले सिकाएकै कुरा बयानमा भन्न लगाएको समेत उनले खुलासा गरे। रेशम चौधरीलाई कहिल्यै नचिनेको र प्रहरीले उनको बारेमा लेखेर भन्न लगाएको करणले बताए। उनी त्यतिमै रोकिएनन्। भावविह्ल हुँदै भने- सरकार मुर्दावाद। मलाई आरोप लगाएर निर्दोषलाई थुनिराछ।

प्रहरीले करणलाई पक्राउ गरेर उनको भिडियो बयान सञ्चारमाध्यममा सार्वजनिक गरेको थियो। जसमा करणलाई रेशम चौधरीबारे सोध्दा गाउँ थाहा नभएको र मुख पनि छोपेको बताउँछन्। भिडियोमा उनले श्रवण चौधरीले एसपीलाई भाला हानेको समेत बताउँछन्। उनको भिडियो बयान सार्वजनिक भएपछि उनको परिवारले त्यसको विरोधसमेत गरेका थिए। आफ्नो छोरा सुस्त मनस्थितिको भएको र कुनै हालतमा पनि यस्तो कार्य गर्न नसक्ने भन्दै उनका आमा रेशमी चौधरीले बताएकी थिइन्। तर उनको कुराको सुनुवाइ कतै भएन।
प्रहरीले करणलाई पुलिस बनाइदिन्छु भन्दै प्रलोभन देखाएर बयान भन्न लगाएको समेत रेशमीले दाबी गरेकी छिन्। कैलाली जिल्ला अदालतको फैसलाअघि प्रहरीले करणलाई पोखरास्थित बालसुधारमा राखेको थियो। अदालतले करणविरुद्ध ६ महिनाको फैसला सुनाएको थियो।

हेर्नुस् भिडियो रिपोर्ट 




One thought on “नाबालक करण चौधरीको टाउकोमा बन्दुक राखेर बयान भन्न लगाएको खुलासा

  1. निश्पक्ष छानविन हुनु पर्छ।एकल नश्लिय राज्य संयन्त्रबाट पिडितलाई न्याय मिल्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *