विजेन्द्र चौधरी पोखरामा यसरी बने सफल उद्यमी

सफलताको सुत्र के हो? विजेन्द्र चौधरी भन्छन्- कामप्रतिको डेडिकेशन र अथक परिश्रम। हो, उनको यही डेडिकेशन र अथक परिश्रमले उनी पोखरामा सफल उद्यमीको रुपमा चिनिएका छन्।

१३ वर्षको कलिलै उमेरमा उनी कामका लागि घरबाट निस्किए। पढ्ने उमेरमा विवाह गरिदिएपछि उनी घर बस्न आवश्यक ठानेनन्। विहे पनि रहरले भन्दा करले गर्न उनी बाध्य भए। ‘हजुरबुबाले मर्नुअघि नातिको विहे हेर्छु भन्नुभयो। त्यही भएर कलिलै उमेरमा मैले विवाह गर्नपर्‍यो,’ उनी विवाहबारे सुनाउँछन्।

तर विहे भएको महिना दिन वित्न नपाउँदै उनी काठमाडौं हान्निएँ। काठमाडौंमा ग्यारेजमा काम सिक्न थाले। सँगै उनले पढाइलाई रोकेनन्। काम र पढाइले उनी सधैं थलिन्थे। तर उनीसँग अरु विकल्प पनि थिएनन्। पढाइसँगै उनी ग्यारेजका काममा पनि ‘पर्फेक्ट’ भइसकेका थिए। उमेरले पनि उनमा ‘म्याचुरिटी’ आइसकेको थियो।

उनले नयाँ गन्तब्यको खोजी गर्न थाले। त्यस्तैले उनले पोखरा जाने निर्णय गरे। तर पोखरामा उनको कोही थिएन। कति दिन भौँतिएर बसे। त्यहाँ बस्दा उनले ग्यारेजमा काम गरे, बस चलाए, दुई छाक टार्न उनले सकेको सबै गरे।

अन्त्यमा उनी जेका लागि परफेक्ट थिए, त्यही गरे। उनी ग्यारेजमै आफ्नो पूरा समय विताउन थाले। उनी अटो ग्यारेजका हेड मेकानिक्सको रुपमा चिनिन थाले। त्यसका लागि उनले दिनरात नभनी काम गर्नपरेको थियो।

उनीसामु एकदिन यस्तो अफर आयो, जसले उनलाई मालिक बनायो। काम गर्ने ग्यारेज उनले उधारोमा किने। ‘मसँग ग्यारेज किन्ने कहाँबाट पैसा आउँथ्यो र। मैले ६ महिनाका लागि उधारोमा ग्यारेज चलाउन मागेको थिएँ,’ उनी सुनाउँछन्।

अहिले त्यो ग्यारेज उनले आफ्नो बनाएका छन्। त्यही ग्यारेजले पोखराको लेखनाथमा घर बनाएका छन्, गाडी चढेका छन्।

उनी यतिमै सीमित छैनन्, पोखराका थारुहरुलाई एकीकृत गर्ने अभियानमा समेत लागेका छन्। अग्रजहरुले बनाएको थारु समाजलाई यतिबेला उनले नेतृत्व गरिरहेका छन्। उनकै पहलमा गत वर्षदेखि माघी कार्यक्रम आयोजना हुँदै आएको छ। पर्यटकीय नगरी पोखरामा थारु सँस्कृति र पहिचानलाई प्रवर्द्धन गर्न जितिया मनाउन थालिएको छ। विभिन्न कार्यक्रमहरुमा थारु परिकारदेखि भेषभुषासम्म प्रवर्द्धन गर्ने काम उनले गरिरहेका छन्।

त्यहाँ रहेका थारुहरुलाई आइपर्ने समस्याका लागि पनि उनले पहलकदमी कामहरु गर्दै आएका छन्। पोखराका थारुहरुलाई भेला गरेर सहकारीको अवधारणा लिएर बचत गर्ने अभियानसमेत चलाएका छन्।

उनी भन्छन्- काम सानो वा ठूलो हुँदैन। हामीले डेडिकेशन र निरन्तर परिश्रम गर्‍यौं भने जुनसुकै काममा पनि सफलता हात पार्न सक्छौं।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *