अन्ततः जसपा संसादद्वय कृष्णबहादुर चौधरी र मालामति रानाथारुबीच पदीय सहमति

सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पदीय जुहारी चल्यो ।

मर्यादाक्रममा आफुलाई वरिष्ठ ठान्दै आएका उनीहरुको मियोको लडाइ झण्डै ३ वर्ष चलेको हो । २०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथ ग्रहण गरेका हुन् । सभामा नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) गरी ३ दलको उपस्थिति छ ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गठन वर्षमै सभाभित्रका सदस्यहरुबीच संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतमा पदीय भागबण्डा टुंग्याए ।

तर अर्को प्रतिपक्षी दल साबिक राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रत्यक्ष निर्वाचित कृष्णबहादुर चौधरी र समानुपातिक तर्फकी मालामति रानाथारुबीच पदीय भागबण्डा मिल्न सकेन । बरु झन बिल्झियो । बोलचाल समेत बन्द हुन्थ्यो, बेलाबखत ।

उनीहरु दुवै जनाले संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए । रानाथारुले आफु पार्टीको मर्यादाक्रम अनुसार वरिष्ठ रहेकोले दलको नेता आफु बन्न पाउनुपर्ने अडानमा थिइन् । भने चौधरीले भने आफु प्रत्यक्ष निर्वाचित भएकोले आफुले पाउनुपर्ने अडान लिएका थिए । दुवै जनाको आ–आफ्नै अडानकै कारण लामो जुहारी चलेको हो ।

अन्ततः मंसिर १० गते पदीय जिम्मेवारी टुंगो लागेको प्रदेश सभा सदस्य रानाथारुले जानकारी गराइन् । प्रदेश सभामा अब जसपाको तर्फबाट संसदीय दलको नेतामा चौधरी र प्रमुख सचेतकमा रानाथारुले जिम्मेवारी पाएका हुन् ।

‘त्यो विवादै होइन । तर राजनीतिमा चल्छ । अब छैन’ दिनेशखबरलाई संक्षिप्त प्रतिक्रिया दिदै चौधरीले भने ।

सुदूरपश्चिम प्रदेश सभामुख अर्जुन थापाले जसपाबाट चौधरीलाई दलको नेता बनाउनुपर्ने भन्दै सिफारिस आएपनि आफुले संसदीय दललाई मात्रै चिन्ने भएकोले र २ बीच कुरा नमिल्दा अन्योलता देखिएको बताए । तर ढिलै भएपनि मिलेको सभामुख थापाले उल्लेख गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *