संरचना निर्माणपछि मात्रै राजधानी सर्छ : मन्त्री वैजनाथ चौधरी

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले दाङको देउखुरीमा राजधानीका लागि स्थायी संरचना निर्माण भएपछि मात्रै बुटवलबाट प्रदेशको राजधानी सारिने बताएका छन्।

उनले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन स्थायी राजधानी दाङमा गर्ने तयारी प्रदेश सरकारले नगरेको पनि स्पष्ट गरे । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सरावलले आज नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावलमा गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री चौधरीले भने, “स्थायी संरचना निर्माण भएपछि मात्र राजधानी सर्छ, अहिले प्रदेशसभाको हिउँदे अधिवेशन गर्ने भन्ने हल्ला मात्र हो, सरकारको तर्फबाट कुनै तयारी छैन ।”

स्थायी राजधानी तोकिएको दाङको देउखुरी(राप्ती उपत्यका)मा जग्गा व्यवस्थापनका लागि खरीदबिक्री गर्न रोकिएको बताउँदै मन्त्री चौधरीले डिपीआर बनेर प्राविधिक प्रतिवेदन प्राप्त भएपछि प्रदेश सरकार र प्रदेशसभा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु गरिने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुखाडी चौधरीको नेतृत्वमा सरावलका विभिन्न वडाबाट १२७ जना नेकपामा प्रवेश गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *