कोरोनालाई ख्याल ठट्टा नसम्झनु, म मरेर बाँचे : डिल्लीबहादुर चौधरी

नेपाली कांग्रेसका नेता एव‍ं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन्। उनी बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालबाट गत बुधबार डिस्चार्ज भएका हुन्। उनी नेपालगञ्जस्थित निवासमा आइसोलेनसमा बसेका छन्।

उनले आफूले अब बाँच्छु भन्ने आश मारिसकेको भन्दै मृत्युलाई जितेर फेरि नयाँ जन्म पाएको बताए। बुटवल हुँदा नै आफूलाई ज्वरो आउने, शरीर दुख्ने भैरहेको र व्यस्तताका कारण चेकजाँच गर्न नपाएको बताए।

केही दिनपछि दाङ आएर पीसीआर परीक्षण गर्दा दुई पटक नेगेटिभ र दुई पटक पोजेटिभ आएको थियो। दाङमा आएपछि उनको शरीरले थेग्न नसक्ने गरी ज्वरो आएको थियो। ‘म दाङ आइसकेपछि कोरोनाका लक्षण देखा परिसकेको थियो। खाना मिठो नहुने, मुख सुक्खा हुनेलगायतका समस्या हुँदै गयो,’ उनले भने।

डाक्टरको सल्लाहअनुसार उनी नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यकर्मीले उनलाई अझै केही दिन होम आइसोलेसनमा बस्न सुझाव दिएका छन्। आफू संक्रमित भएर अस्पतालमा बस्दाको पीडा सुनाउँदै सांसद चौधरीले सकेसम्म यो रोगलाई नेपालबाटै निर्मुल पार्नुपर्ने बताए। त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराए।

उनले कोरोनालाई कसैले पनि ख्याल ठट्टा नगर्न आग्रह गरे। ‘म मृत्यु जितेर फर्किएको छु,’ चौधरीले भने, ‘कोरोनालाई कसैले पनि ख्याल ठट्टा नसम्झनु होला, लापरबाही नगर्नु होला।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *