पोहोरको डेंगुमय दसैं

(यो वर्षको दसैं कोरोनामय छ । त्यसैले, उल्लासमय दसैंको मुडमा कोही पनि छैनन् । गत वर्ष दसैंको छेकोमा हामी सपरिवारलाई डेंगुले संक्रमण गर्दा अहिले कोरोनाकै झैं लक्षण देखिएको थियो । पोहोरको डेंगुमय दसैंको सम्झना ।)
घटस्थापनाको दिन थापाथलीस्थित मार्टिन चौतारीमा मलाई बिहान ११ बजे वक्ताको रूपमा बोलाइएको थियो । विषय थियो, ‘आदिवासी जनजाति र दसैं बहिष्कार प्रसंग ।’ म भने भाइरल ज्वरोसँगै असह्य ढाड दुखिरहेकी श्रीमतीलाई उपचार गराउन बिहानै ‘काठमाडौँ भ्याली न्यूरो हस्पिटल’ सुन्धारामा डाक्टरको लाइनमा थिएँ । श्रीमती बेन्चमा लामो समय बस्न सक्ने अवस्थामा थिइनन् । एक त समयमै मार्टिन चौतारी पुग्नुपर्ने दबाब, त्यसमाथि श्रीमतीको कमजोर अवस्था । लाइनको व्यवस्थापन गर्ने ‘सिस्टर’ लाई विन्ति बिसाएपछि धन्न चाँडो पालो पाइयो ।

न्यूरोका डाक्टरले एक झोला औँषधी भिडाइहाले । श्रीमतीलाई डेरामा ल्याइ, थोरै गाँस टिपेर म कार्यक्रममा दौडिएँ । छोरी बुनु थारूले बिहान सवा ११ बजेतिर फोन गरिन्, ‘मैले ममीको अनलाइन रिपोर्ट हेरेँ । उहाँलाई डेंगु भएछ । डेंगुकै कारण ढाड पनि दुःखेको रहेछ । न्यूरोको डाक्टरले दिएको कुनै औषधी नखुवाउनुहोला । कोडोपर एउटा मात्रै औषधी खुवाउँदा हुन्छ ।’ छोरी बुनु पत्रकारितामा स्वस्थ्य बिटको रिपोर्टिङले परिवारका सबै सदस्यको स्वस्थ्यमा निकै सचेत छिन् ।

साता दिन पहिले पनि श्रीमतीलाई भाइरल ज्वरोले सताएको थियो । ज्वरो पुनः उल्टिएर टेकु हस्पिटलमा जँचाएको त डेंगु पो देखियो । मार्टिन चौतारीको कार्यक्रमबाट निस्किएपछि मलाई पनि ज्वरोले गाँज्न थाल्यो । मेडिकलमा गएको त ‘निम्स’ थमाइदियो । साथीहरुले ‘निम्स’ ले मृर्गौलालाई असर गर्ने भनेपछि सिटामोल खान थालेँ । यता घरमा सामान्य ज्वरो तीनटै छोरीहरूलाई थियो ।

अर्काे दिन कान्छी छोरी भूमिका थारूको जन्मदिन थियो । विसन्चोका कारण ऊ जन्मदिन मनाउने मुडमा थिइनँ । तर अफिसबाट फर्किदा उसकी दिदीले ‘बर्थ ड केक’ बोकेर आइछे । बैनीलाई बर्थ डे केक थमाएपछि उ भने बिस्तारामा डंगरंग लडी । ज्वरोले निस्लोट भएर आएकी थिई । अर्काे कोठामा बहिनीको केक काट्ने समयमा पनि उठेर आउन सकिन । जन्मदिन मनाउने छोरी केक काट्न छाडेर रुन थाली, ‘आमा, दिदी ज्वरोले लडेका छन् । मैले कसरी पो केक काट्नु ।’ जसोतसो केकलाई लटरपटर व्यवस्थापन गरियो ।

अर्काे दिन कान्छी र माइली दुबै छोरीले टेकुमा रगत जँचाए । भोलिपल्ट रिपोर्ट आयो । ती दुबैलाई पनि डेंगु भएछ । हातमा डेंगुको रिपोर्ट लिएर कान्छी छोरी ‘नयाँ पुस्ता’ टेलिभिजन प्रोग्राम रेकर्ड गर्न अफिस जाने भइ । जबकी डेंगुको मुख्य औषधी भनेकै सिटामोल र आराम हो । उसलाई आराम गर्ने अवस्था थिएन । त्यसमाथि चिकित्सकले अर्काे दिन दिनमा चार पटक ‘कोडोपर’ खान भनेपछि उसले अर्को दिनबाट बिस्तााबाट टाउको उठाउन सकिन ।

घटस्थापना पछिको तेश्रो दिन मलाई काम विशेषले न्यूरोड जानुपर्ने भयो । साथीहरूले निकै जाम छ भनेपछि बाइक बागबजारमै छाडेर हिँड्दै न्यूरोड गएँ । तर गाडीभन्दा दसैंको किनमेल गर्ने पैदल यात्रुहरूको जाम बढी थियो । दुइ–दुइ ठाउँमा आकाशे पुलको हिँडाइले बागबजार फर्किदा म थकाइले लोथ थिएँ । अफिस आएपछि सहकर्मी अनन्त वाग्लेले भने,‘आज अफिसले तलब हालेको छ । म त सपिङ गएँ । पेज बनाउ है ।’ पेज बनाएर घर पुग्दा रातको १० बजेको थियो । कमजोरीले मैले बडो मुस्किलले बाइक हाँक्दै कीर्तिपुर डेरा पुर्‍याएँ ।

अर्को दिन म पनि रगत जँचाउन टेकु हस्पिटलमा थिएँ । ज्वरोले थलिएकी जेठी छोरी जुनुको पनि रगत जँचाइयो । त्यसको भोलिपल्ट रिपोर्ट आयो, ‘उही डेंगु ।’ यसरी परिवारका पाँचै जना डेंगुले ढल्यौं । डेंगुले ढलाएको परिवारमा न रातो टीका, न जमरा । चिल्लो पीरोको पथपरहेजका कारण न माछा न मासु । चाडवाडको बेला थारूको छोराले यसो एक दुइ प्याग दारु खाउँ भन्यो, त्यो त झन चान्सै थिएन ।

रिपोर्ट आएको दिन हाजिरसम्म गर्न अफिस गएँ । थारु पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष दहित मलाई भेट्न आएका थिए । उनीसँग चिया खाँदा पो मैले आफूलाई निरीह पाएँ । कारण चियाको कप उठाउनेसम्म ल्याकत ममा थिएन । शरीरको उर्जा स्यापसुप सुकेको थियो । स्वास्थ्य बिट हेर्ने सहकर्मी दिनेश गौतमसँग सल्लाह गर्दा उनले मेवाको पात सेवन गर्न सल्लाह दिए । डेरामा बस्ने मान्छे मेवाको बोट कहाँ पो खोज्न जानु । घरबाट मगाइएको काँचो मेवा थियो । त्यसकै तरकारी बनाइयो । बल्खु तरकारी थोक बजारबाट पाकेकै भए पनि मेवा ल्याइयो । हे दैव, बसबाट कीर्तिपुर, नयाँबजार ओर्लिएर डेरासम्म एक दुई किलो फलफूल लग्न पनि शरीरमा जाँगर थिएन । शरीरको प्लेटलेस घटेर जिउ पुरै शिथिल भएको थियो ।

दसैंमा काठमाडौँका शक्तिपीठ दर्शन गर्ने मनसुवा बनाएको थिएँ । आफ्नै पिठ (पिँठ्यु) दुखेर हैरान भएको बेला कहाँको शक्तिपीठको दर्शन ? एकसाता औषधी खाएर छाडियो । तर औषधी खान छाडेको भोलपल्टदेखि शरीर असह्य चिलाउन थाल्यो । डाक्टरले शरीर चिलाउनु रोग ठीक हुँदै गएको लक्षण हो भनी एलर्जीको औषधी टिपाए । तर त्यो औषधीले अर्को दिन पनि बीसको उन्नाइस नभएपछि पुनः अर्को औषधी सुझाए । बरु ज्वरो आएर आराम गर्न जति सुविस्ता थियो, त्योभन्दा बढी शरीर चिलाएको हैरानी कैयौं गुणा सकसपूर्ण थियो । यसरी पोहोर साल रामरमाइलो नगर्दै दसैं‌को विदा सकियो । त्यसो त यस वर्ष पनि कोरोना कहरले दसैंको रामरमाइलो कहाँ पो छ र ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *