विजय कुमार गच्छदारको सबै सम्पत्ति रोक्का

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा सम्पत्तिको वैधता नदेखिएपछि विभागले गच्छदार, उनकी श्रीमती निर्मला गच्छदार र दुई छोराको नाममा भएको सबै सम्पत्ति रोक्का गरेको हो । अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएको छ, त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।

विभाग स्रोतका अनुसार गच्छदार र परिवारको नाममा रहेको बैंक खाता, घरजग्गा, शेयर, गाडीलगायतका सम्पत्ति कारोबार तथा हक हस्तान्तरण गर्न रोक लगाइएको छ । ‘सम्पत्ति रोक्का राखेर अनुसन्धान अधिकृत तोकी विस्तृत अनुसन्धान अघि बढिसकेको छ,’ विभाग स्रोतले भन्यो, ‘अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएको छ, त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।’

अनुसन्धानमा आवद्ध एक कर्मचारीका अनुसार गच्छदारको नाममा स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंकमा खाता भेटिएको छ । ती सबै खाता विभागले रोक्का राखेको हो । गच्छदारले एक सहकारीमासमेत खाता खोलेर पैसा जम्मा गरेको भेटिएको छ ।

विभागले गच्छदारकी श्रीमती निर्मला गच्छदारको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक–विराटनगर, नेपाल बंगलादेश बैंक लिमिटेड–काठमाडौ, सिन्सियर सेभिङ को–अपरेटिभमा खाता भेटेपछि ती सबै बैंक खाता रोक्का राखेको हो । विभागले अनुसन्धान भइरहेकाले बैंक खातामा कति पैसा भेटियो भन्ने विवरण खुलाउन चाहेन ।

यस्तै, विजयकुमार गच्छदारकै नाममा सुनसरी जिल्लाको तत्कालीन भालुवा गाविसमा २ कठ्ठा ७ धुर क्षेत्रफल जग्गा र एक पक्की घर भेटिएको छ । श्रीमती निर्मला गच्छदारको नाममा मोरङ्गको विराटनगर महानगरपालिकामा १७ कठ्ठा २ धुर जग्गा र पक्की घर भेटिएको छ ।

यस्तै सुनसरी जिल्लाको तत्कालीन भालुवा, सिमरिया, तनमुना गा.वि.स. मा ७ विगाहा १४ कठ्ठा ६ धुर जग्गा फेला परेको छ । श्रीमतीको नाममा विराटनगर महानगरपालिकामैं थप १७ कठ्ठा अर्को जग्गा भेटिएको छ । छोरा सुभाष गच्छदारको नाममा ललितपुरका बुङ्मतीमा १३ रोपनी क्षेत्रफलको जग्गा र घर भेटिएको छ ।

गच्छदारले विभागसँगको बयानमा ललितपुर, बुङमतीको १३ रोपनी जग्गा छोरा सुभाषले खरिद गरेको दावी गरेका छन् । यस्तै त्यहाँ निर्मित घरको लागत मूल्य भने छोरा सुभाषको कमाई र आफ्नो विभिन्न समयमा मन्त्री, सांसद हुँदा प्राप्त पारिश्रमिकबाट बनाएको दावी गरेका छन् ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले गच्छदारको सम्पत्ति छानविन भइरहेको बताए । ‘ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाहरुको सम्पत्ति छानविन गरिरहेको छ’ उनले भने, ‘अनुसन्धान भइरहेको विषयमा थप केही भन्न मिल्दैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेलगत्तै विभागले गच्छदारमाथि छानबिन थालेको हो । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा प्रमुख भूमिका खेलेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरी गत माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

– स्रोत नेपालवाच




Leave a Reply

Your email address will not be published. Required fields are marked *