कक्षा ८ पढ्ने रीना चौधरीले जितिन् अन्तरिक्ष चित्रकलातर्फ प्रथम पुरस्कार

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।
चित्रकलातर्फ किड्स लर्निङ स्कुल, काठमाडौंकी कक्षा ८ मा अध्ययनरत छात्रा रीना चौधरी पहिलो, बुढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत नीति पछाईँले दोस्रो तथा न्यु होराइजन सेकेन्डरी स्कुल बेनी म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हसिल गरेका छन्।
प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।
वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कुल पोखराका सौगत गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौंका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कुलकी रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन्। ती विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने उनले बताए।
प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेवसाइटमार्फत् पठाएका थिए। चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए। दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए।
congratulation nanu and we must proud of you.