उदयपुरको बेल्हामा बन्‍यो थारु संग्रहालय

उदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो।

बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।

उनका अनुसार नगर स्तरीय थारु उत्थान समितीवाट ४ लाख र प्रदेश १ निर्वाचन क्षेत्र विशेष कार्यक्रम वाट ४ लाख ९३ हजार सहयोगमा निमार्ण गर्न सफल भएको हो।

उनले भने, ‘ थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले संग्रहालय स्थापना गरेका हौँ।अहिले थारु जातीको मौलिक,पौराणिक र सास्कृतिक झल्कने ८० प्रतिशत समाग्रीहरु राखेका छौँ। पछि अझै मौलिक कला र संस्कृति झल्कने चीजबिज थप्दै जानेछौँ।’

यस्तै संग्हालयमा थारु जातिमा जन्मदेखि मृत्युसम्म प्रयोगमा आउने समाग्रीहरु सूचिकृत गरिने तयारी रहेको उनको भनाइ छ। यसका साथै उनले कोशी टप्पु बन्यजन्तु आरक्षण नजिकै रहेको र बेल्हा २ मा तपेश्वरी मध्यवर्ती सामुदायिक होमस्टे पनि सञ्‍चालनमा रहेकोले पर्यटनको नगरीको रुपमा विकास गरिनेमा जोड दिए।

उनले भने, ‘ कोरोना भाइरस (कोभिड-१९)ले देशभरकै जनजीवन प्रभावित र अस्तव्‍यस्त बनाएकाले कोभिडपछि चाँडै नै थारु संग्रहालयलाई सञ्‍चालनमा ल्‍याउँछौँ।’

यता, बेलका नगरपालिकाकी उप-प्रमुख राजकुमारी चौधरीले संग्रहालयलाई अझै व्यवस्थित र स्तरीय बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले उदयपुरमा मात्र नभइ छिमेकी जिल्ला सिरहा,सप्तरी ,सुनसरी पनि थारु संग्रहालय नभएकाले यही नै पहिलो भएको दाबी गरिन्।

उनले भनिन्, ‘ साँस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्‍न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरु आदि राखिएको छ। सायद अहिलेसम्‍म छिमेकी जिल्लाहरु सिरहा, सप्तरी र सुनसरीमा पनि यस्तो प्रकारको थारुको भेषभुषा र संस्कृति जोगाउने ठोस रुपमा संग्रहालय बन्न सकेको छैन। हामी नै पहिलो हो।’

यस्तै उदयपुरको सदरमुकाम गाइघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनि अहिलेसम्म संग्रहालयको लागि भवन समेत बन्न भने सकेको छैन।

-देशसञ्चारबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *